दियोले जल्योे गमगढी !



कोहलपुर ।

कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला मुगुले दुई महिनामा दुई वियोगान्त व्यहोरेको छ । रारा तालको जिल्ला समेत रहेको मुगुको सदरमुकाम रहेको छायानाथ रारा नगरपालिकामा यस्ता कारुणिक घटना घटेका हुन् ।

गत असोज २६ गते यात्रुबाहक बस दुर्घटना हुँदा तीन दर्जन नागरिकले ज्यान गुमाए । छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा भएको दुर्घटनामा कुल ३३ जनाको ज्यान गएको थियो । दसैंको समयमा भएको दुर्घटनाका कारण छायानाथ रारा नगरपालिकाले ठूलो मानवीय क्षति व्यहो¥यो । मृत्यु हुनेमा अध्ययनको शिलशिलामा बाहिरी जिल्लाबाट दसैं मनाउन घर फर्किएका विद्यार्थीहरु बढी थिए ।

मृतक ३३ जना मध्ये ३ जना मुगुकै सोरु गाउँपालिकाका र एक जना बाँकेका पुरुषबाहेक सबै छायानाथ रारा नगरपालिकाकै हुन् । हृदयविधारक दुर्घटनाको घाउ सेलाउन नपाउँदै पुनः जिल्ला सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । सोमबार साढे १२ बजे जिल्ला सदरमुकाममा रहेको एक घरमा दियोबाट सल्केको आगोबाट २१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीमा परेकामध्ये १८ घर ३ वटा घुम्ती पसल रहेका छन् । आगलागीमा मानवीय क्षती नभएपनि करोडौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीका कारण भौतिक क्षति हुनुका साथै धनमालसहित अनुमानित करोडौको क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए । मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जिल्ला सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको खिम्मे लामाको घरबाट आगलागी सुरु भएको बताए ।

उनका अनुसार लामाको घरमा पुजाका लागि बालेको बत्ती (दियो)को आगोबाट सल्किएर ठूलो क्षति भएको थियो । बीच बजार क्षेत्रमा आगलागी भएको सूचना प्राप्त भएपनि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा आगो राति साढे चार बजेपछि मात्रै नियन्त्रणमा लिइएको प्रजिअ महतको भनाइ छ । ‘अपेक्षित रुपमा बाँक्लो बस्ती भएको सदरमुकाममा आगलागी भयो ।

भौतिक तथा धनमालको क्षति भएको छ । मानवीय क्षति केही पनि भएको छैन ।’, उनले भने, ‘कुल २१ घर जलेर नष्ट भएका छन् । पीडितको व्यवस्थापनका साथै क्षतिको एकिन विवरण संकलन भइरहेको छ ।’ तत्कालको लागि आगलागी पीडितहरुलाई बस्ने, खाने, भाँडाकुडाको लागि स्थानीय सरकारले व्यहोर्ने उनी बताउँछन् ।

तत्काल बसेको जिल्ला सुरक्षा समितिको बैठकले पीडितहरुको व्यवस्थापनका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने र जलेका घर निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय भएको प्रजिअ महतले जानकारी दिए । यस्तै जिल्लामा क्रियाशिल संघसंस्थाहरुले पीडितहरुको लागि राहत वितरण तथा खानेकुरा व्यवस्थापन गर्नेछन् ।

मुगुमा अत्यधिक चिसोका कारण त्रिपालमा राख्न समस्या भएको प्रहरीले जनाएको छ । चिसोलाई मध्यनजर गरेर घर पुर्ननिर्माण नहुञ्जेलसम्म पीडितहरुलाई भाँडाको घरमा राख्नेदेखि आफन्तको घरमा राखिने पनि निर्णय जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १ गते बुधबार