आज विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द, बिहानैदेखि जनजिवन प्रभावित



कोहलपुर ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । केही दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।

बिहीबार नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर आजको लागि नेपाल बन्दको घोषणा गरेका थिए । नेपाल बन्दको अघिल्लो दिन सोमबार साँझ बाँकेसहित देशभर नेकपाका नेता कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए ।

कतीपय स्थानहरुमा प्रहरीले हस्तक्षेप समेत गरेको बताइएको छ । आज नेपाल बन्दका क्रममा एम्बुलेन्स, कुटनितिक नियोगका गाडि, प्रेस, दमकल, दुध बोक्ने गाडी लगायतका सवारी साधन सञ्चालन हुन पाउने नेकपाले जनाएको छ ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो । नेपाल बन्दमा कुनै अप्रिय घटना हुन नदिनको लागि बाँकेमा सोमबार साँझैबाट सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर उच्च सुरक्षा सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ३० गते मंगलबार