जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले मानव बेचविखन बिरुद्ध सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
प्रहरीको एक्लो प्रयासले मानव बेचबिखन न्यूनिकरण गर्न नसकिने भन्दै उनले यो अभियानमा साथ सबैले दिनुपर्ने बताएका हुन् ।
नेपालगन्जको जमुनाहामा मानव बेचबिखन बिरुद्ध भएको सचेतना कार्यक्रममा बोल्दै उनले मानव बेचबिखन बिरुद्ध सबै जना जाग्नुपर्ने अवस्था आएको बताए । ‘सबैको सहयोग र सहकार्यमा मानव बेचबिखन निस्तेज पार्न पक्कै सकिन्छ’ एसपी अधिकारीले भने, ‘प्रहरी समेत मानव बेचबिखन बिरुद्ध हरसम्भव लागिपर्छ ।’
अहिलेको २१ औं शताब्दीमा पनि मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट रहेको उनले बताए । ‘पहिलेको तुलनामा अहिले शिक्षाको पहुँच बढिरहेको समयमा समेत मानव बेचबिखन हुनु निकै दुःखद कुरा हो’ उनले भने, ‘सीमा नाकाबाट हुने मानव तस्करी रोक्नका लागि सबै एकढिक्का भएर लाग्नु पर्छ ।’
मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रममा शान्ति पुर्नस्थापना गृह नेपालगन्ज, ईलाका प्रहरी कार्यालय जमुनाहाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा भएको थियो ।
कार्यक्रममा प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्