प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको संघारमा अहिले रहेको छ । महाधिवेशन सुरु हुनुभन्दा दुई साता मात्रै बाँकी रहदाँ अहिले जिल्ला–जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट कार्य चलिरहेको छ ।
देशभर सत्ता बर्हिगमन र पार्टी फुट व्यवहोरेको एमालेले वडादेखि केन्द्रसम्म सहमतिका आधारमा पदाधिकारी चयनलाई विशेष जोड दिइरहेको छ । स्वयंम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत एमालेको नेतृत्व सहमति मै हुने उद्घोष गरिसकेका छन् । अहिले देशभरका विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट कार्य तीव्र रुपमा चलिरहेको छ ।
सोही अनुसार बाँके जिल्लामा समेत १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट गरिएको छ । केन्द्रिय कमिटीको सर्कुलेसन अनुसार बाँके जिल्लाबाट १५ जना प्रतिनिधि छनौट भएका छन् । प्रतिनिधिका लागि सहमतीय रुपमा तीन वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट गरिएको नेकपा एमाले बाँकेले जनाएको छ । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालका अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १, २ र ३ बाट खुला, महिला र दलित समुदायको प्रतिनिधित्व समेटेर महाधिवेशन प्रतिनिधि छनौट गरिएको हो ।
नेपालको सबैभन्दा ठूलो र समावेशी दल दाबी गर्ने एमालेले बाँकेमा भने ठूलो बाहुल्य रहेको थारु, मधेशी लगायतका समुदायलाई भने उपेक्षा गरेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भूसाल चयन भएका छन् । महिलामा कोटाबाट पार्टी विभाजन पूर्व माधव नेपाल निकट रहेकी बसन्ती अधिकारी र भारती खनाल चयन भएका छन् ।
उनीहरु सबै कोहलपुर नगरपालिकाका मात्रै हुन् । बाँकेबाट छनौट भएका प्रतिनिधिहरुमा कोहलपुर र संस्थापन पक्षकै बर्चस्व रहेको छ । क्षेत्र नम्बर २ बाट निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह र विजया धिताल छनौट भएका छन् ।
नेपालगन्जबाट एकमात्र महिलाका रुपमा प्रतिनिधि छनौट भएकी धितालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा स्वर्गीय शुशिल कोइरालासँग चुनावमा पराजित भएकी थिइन् । यस्तै हाल जिल्ला अध्यक्ष रहेका गुरुङ अघिल्लो निर्वाचनमा माधव नेपाल पक्षबाट बाँके जिल्ला उपाध्यक्ष जितेका थिए ।
सोही प्यानलबाट जिल्ला अध्यक्षमा निर्वाचित अशोक कोइरालाले नेकपा एकिकृत समाजबादी पार्टी रोजेपछि एकता प्रक्रियामा समावेश भएका गुरुङलाई पार्टी अध्यक्ष बनाइएको थियो । क्षेत्र नम्बर २ मा मधेशी समुदायको बाहुल्य छ । तर प्रतिनिधिमा मधेशी समुदायलाई उपेक्षा गरिएको भन्दै आचोलना भइरहेको छ । यहि क्षेत्रबाट मुस्लिम समुदायबाट हलिम शाह छनौट भएका छन् ।
उनी मुस्लिम समुदायबाट प्रतिनिधि निर्वाचिन हुने एकमात्र व्यक्ति हुन् । निर्वाचन क्षेत्र नम्बर क्षेत्र नम्बर– ३ बाट किस्मत कुमार कक्षपति, रत्न खत्री, घननाथ खनाल र महिलामा भूमिसरा धिताललाई छनौट गरिएको एमालेले बाँकेले जनाएको छ । यसक्षेत्रबाट पार्टी एकता प्रक्रियामा समावेश भएका खत्रीलाई संस्थापन इतर पक्षबाट प्रतिनिधि छनौट गरिएको छ ।
अघिल्लो निर्वाचनमा उनी माधव नेपाल समूहबाटै जिल्ला सचिवमा निर्वाचित भएका थिए । थारु समुदायलाई पूर्णत उपेक्षा गरिएको प्रतिनिधिमा दुइ जना दलित समुदायबाट छन् । बैजनाथका नन्द विश्वकर्मा र कोहलपुरका पुजन विश्वकर्मा रहेका छन् ।
थारु र मधेशी बाहुल्य क्षेत्र उपेक्षित
बाँकेमा तीन निर्वाचन क्षेत्र रहेका छन् । बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधता रहेको बाँकेमा राजनीति दलमा समेत सोही अनुसार समान रुपमा प्रतिनिधि छनौट गरिनुपर्ने हो ।
तर सबैभन्दा धेरै थारु र मधेशी समुदायको बर्चस्व रहेको क्षेत्र नम्बर १ मा एक जना पनि समावेश छैनन् । यहाँ खस आर्यकै दाबी देखिएको छ । क्षेत्र नम्बर १ का एक नेताले प्रतिनिधि छनौटमा पक्षपात गरिएको जानकारी दिए । थारु र मधेशी समुदायलाई किनारा लगाइएको उनी बताउँछन् ।
क्षेत्र नम्बर २ मा समेत मधेशीको बाहुल्यता रहेको छ । तर पनि यसक्षेत्रबाट मधेशी समुदायबाट प्रतिनिधि छनौट हुन सकेनन् । यस विषयमा जिज्ञासा राख्दाँ नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले प्रतिनिधि छनौटको विषयमा असन्तुष्टीहरु व्यक्त भएको स्वीर्कार गरे । उनका अनुसार प्रतिनिधिलाई समावेशी बनाउनको लागि प्रदेश र केन्द्रिय नेतासँग आग्रह गरिएको छ ।
‘समावेशी प्रतिनिधि भएनन् भन्ने प्रश्न ठिकै हो । यस विषयमा हामीले रिपोर्टिङ गरिरहेका छौ ।’, मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘सबै वर्ग र समुदाय समावेश हुने गरेर मनोनित गर्ने कुरा भएको छ ।
तीन–चार दिनमा केही संख्या थपिन सक्छ ।’ धिताल बताए अनुसार कम्तिमा चार जनासम्म प्रतिनिधि थपिने सम्भावना छ । प्रतिनिधि छनौटमा कलष्टर छुटेको उनी बताउँछन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा (१०–१२) सम्म हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्