रारादेखि जुम्लासम्म म्याराथन हुने



कोहलपुर ।

लोकतन्त्र दिवसको अवसरमा रारा म्याराथन आयोजना हुने भएको छ । लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको हो । रारा म्याराथनको आयोजना र व्यवस्थापन अन्तरालको हुनेछ ।

पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । रारा म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट संयोजक चक्रबहादुर चन्दले जानकारी दिए ।

इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था रहेको अन्तरालले १५ वर्षदेखि अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । विश्व कीर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलन सम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको छ ।

नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन गर्दै आएको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद र ठुला कर्पोरेट इभेन्ट्समा व्यवस्थापन सम्हालेको अनुभव छ ।

यसैगरी पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिञ्जा (जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालकी सञ्चार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रारा म्याराथनको तयारी सुरु भइसकेको आयोजक अन्तरालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार