नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेका २९ वटा वडाहरुमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।
शनिबार निर्विरोध चयन हुन नसकेका जिल्लाका २९ वटा वडाहरुमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लामा रहेका आठ पालिकाका ८१ वटा वडामध्ये ५२ वटा वडाहरुमा शनिबार नै निर्विरोध रुपमा नयाँ नेतृत्व चयन भएको थियो । निर्विरोध चयन हुन नसकेका २९ वटा वडाहरुमा आइतबार निर्वाचन भएको थियो ।
ती वडाहरुमा वडा कार्य समिति, क्षेत्रीय प्रतिनिधीका लागि मतदान भएको सहायक जिल्ला निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै विभिन्न स्थानहरुमा मत गणना भइरहेकोले आजसम्म अन्तिम परिमाण आउने उनले बताए । ‘मतदान सकिएसँगै मत गणना भइरहेको छ’ उनले भने, ‘सोमबारसम्म अन्तिम तथ्यांक आइपुग्छ ।’
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको नेतृत्वमा समितिका सदस्य तथा डिएलए बाँकेका अध्यक्ष (अधिवक्ता) ईश्वरीप्रसाद ज्ञवाली, समितिका सदस्य एवम नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव, समितिका सदस्य (प्रवक्ता) एवम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, निर्वाचन समितिका सदस्य एवम् शिक्षक संघका सचिव ऋषिराज शर्मा कोहलपुरका विभिन्न वडा, राप्ती सोनारीको २ र ८ तथा बैजनाथ, नेपालगन्ज लगायत स्थानको अनुगमन गरेका थिए ।
यस्तै जिल्ला निर्वाचन परिचालन समितिका सदस्य तथा वरिष्ठ अधिवक्ता भोलासिङ हमालको नेतृत्वमा अधिवक्ताद्वय प्रेम शर्मा, गोपाल गिरी लगायत नरैनापुर गाउँपालिकासहित र राप्ती सोनारी वडा नम्बर ६ को अनुगमनमा गरेको बताइएको छ ।
प्राविधिक रुपमा कुनै समस्या नआए मंसिर १ गते हुने गाउँपालिका-नगरपालिका स्तरीय निर्वाचन कार्यक्रमका लागि भोली कात्तिक ३० नै उम्मेदवारी मनोनयन हुने निर्वाचन अधिकृत भट्टराइले जानकारी दिए । मंसिर १ गते गाउँपालिका÷नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्