धान खरिदमा विशेष मापदण्ड ! नेपालगन्जमा कहिले होला धान खरिद ?



खगेन्द्र दाहाल । नेपालगन्ज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले धान खरिदमा विशेष मापदण्ड अपनाउने भएको छ । किसानले धान दाएर पनि व्यापारीलाई विक्रि गरिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने धान खरिद गर्नको सट्टा मापदण्डका कुरा गरेर अल्मलिएको छ । यस पटक किसानको धेरै धान भिजेका कारण कम्पनि कसरी धान खरिद गर्ने भन्ने दोधारमा रहेको छ ।

सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले किसानका धान बेलैमा खरिद गर्नुपर्नेमा त्यसो नगरेको हो । किसानलाई राहत पुगोस् भन्ने हेतुले सरकारले समर्थन मूल्य तोकिदिएको थियो तर सोही अनुरुप कार्य नहुदाँ भने किसान थप मारमा पर्ने गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा नेपालगन्जका प्रमुख राम बहादुर विष्टले तोकिएको मापदण्ड भित्र परे धान खरिद गरिने बताए । उनका अनुसार किसानले एक नम्बरको धान विक्रि गर्न ल्याए कुनै दुविधा विना खरिद गर्ने अन्यथा गेटबाटै फिर्ता गरिनेछ । गत वर्ष मंसिरको ८, ९ गतेतिर धान खरिद गर्न सुरु गरिएकोमा यस वर्ष केहि थप समय लाग्न सक्ने अनुमान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ ।

केन्द्रबाट धान खरिद गर्न कुनै पनि निर्देशन नआएका कारण कम्पनिले पनि आफ्नो तयारीलाई चुस्त बनाउन नसकेको हो । ‘माथिबाटै परिपत्र आउनुपर्ने हो तर त्यो हालसम्म आएकै छैन’, मुख्य शाखा प्रमुख विष्टले भने, ‘त्यसैले पनि अझै केहि समय पर्खनुपर्ने देखिन्छ ।’

नेपालमा पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका १० स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानका धान एकैसाथ खरिद गर्दै आएकोमा यस वर्षका लागी भने कुनै टुगो नलागेको मुख्य शाखा नेपालगन्जका वरिष्ठ सहायक तथा सूचना अधिकारी अनिल कुमार महतोले जानकारी दिए ।

नेपालगन्जमा रहेको ३ वटा गोदामको क्षमता ५७ हजार क्विन्टल रहेको छ । अहिले गोदाममा चामल पनि रहेकोले पूर्णरुपमा धान राख्नका लागी भने खालि भै सकेको छैन । चामल अहिले ९ हजार क्विन्टल रहेको कम्पनीले जनाएको छ ।

यो वर्ष किसानलाई पानीले गर्दा मारमा पारेकै बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धान खरिदमा विशेष मापदण्ड भए मात्र खरिद गर्ने बताएपछि किसान थप चिन्तामा परेका छन् ।

‘तोकिएको मापदण्ड भित्र भए मात्र कम्पनिले धान खरिद गर्छ होइन भने खरिद गर्दैन’, सूचना अधिकारी महतोले भने, ‘सुकेको तथा भुस नभएको अनि सफा धान मात्र खरिदका लागी योग्य हुने भएकाले किसानले पनि विक्रि गर्न ल्याउँदा ध्यान दिन आवश्यक हुन्छ ।’

कम्पनीले ढिला भएपनि कोटा अनुसार धान खरिद गर्ने जनाएको छ । खरिद कहिलेसम्म गर्ने हो त्यो भने अनिश्चित रहेको छ । खाद्य कम्पनीका अनुसार मंसिर भित्रै धान खरिद गरिने छ । यो वर्ष सरकारले मोटा धानको प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ समर्थन मूल्य तोकेको छ भने मध्यम धानको प्रति क्विन्टल २९ सय २ रुपैयाँ तोकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार