सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिरहेको छ ।
अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर एक गते विशेष समारोहका बीच ई–पासपोर्टको वितरण सुरु हुनेछ । विभागले कोबाट यसको सुरुआत गराउने भन्ने सार्वजनिक गरेको छैन ।
‘सुरुआतका केही दिन हामी दैनिक सीमित मात्रै ई–पासपोर्ट वितरण गर्छौं,’ प्रवक्ता आरनले भने, ‘पूर्ण रुपमा ई–पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहन्छौं ।’ विभागले मंसिर एक गतेदेखि आंशिक रुपमा सुरु हुने ई–पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको अनलाइनखबरले उल्लेख गरेको छ ।
एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले सुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।
सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई–पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ ।
अन्तर्राष्ट्रिय स्तरको सुरक्षित पासपोर्ट
ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ । इलेक्ट्रोनिक राहदानी एमआरपी भन्दा गुणस्तरीय र भरपर्दो हुन्छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई–पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ ।
त्यसमै पासपोर्टबाहक व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । यसको ‘सेक्युरिटी फिचर’ कसिलो हुने गर्छ । यो पासपोर्टलाई मेसिन-कम्प्युटरले सहजै रिड गर्नसक्छ । ई–पासपोर्ट लागू भएपछि पासपोर्ट दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने अपेक्षा छ, किनभने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन ।
त्यसैकारण अहिले जस्तो अर्काको नाममा जारी भएको पासपोर्ट बोकेर उड्ने समस्या समाधान गर्ने अपेक्षा सरकारको छ । सरकारले राष्ट्रिय परिचयपत्र वितरण गरेर सबै नागरिकको बायोमिट्रक विवरण लिने भएकाले बायोमट्रिक म्याच नभएको खण्डमा अन्यको नाममा पासपोर्ट बनाउन निकै कठीन हुनेछ ।
अझै अर्काको पासर्पोट बोकर विमानस्थलमा पुग्दा मेसिनले सिधै बायोमिट्रक फेल गराउने अवस्था आउँछ । यसो गरिए विभिन्न अपराध गरेर अन्यको पासपोर्टमा विदेश उड्नेहरुलाई रोक्न सहज हुनेछ ।
कस्तो हुन्छ पासपोर्ट ?
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार नेपालको ई–पासपोर्टमा ६४ वटा पृष्ठहरु हनेछन् । सरकारले ती पृष्ठहरुमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो राखेको छ । ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहने गरी निर्णय भएको थियो । पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ ।
तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको चिया बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्ध्रौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् ।
२० र २१ औंमा कुमारी, २२ र २३ औंमा माथिल्लो मुस्ताङ, २४ र २५ औंमा बाघ, २६ र २७ औंमा जुम्लाको सिंजा उपत्यका, २८ र २९ औंमा देशय् मरू झ्या, ३० र ३१ औंमा जानकी मन्दिर, ३२ र ३३ औंमा करुवा, ३४ र ३५ औंमा हात्ती, ३६ र ३७ औंमा रानीपोखरी र ३८ र ३९ औंमा हनुमानढोका दरबारका फोटो रहनेछन् ।
४० र ४१ औं पृष्ठमा धरहरा, ४२ र ४३ औंमा भुर्तिका देवल, ४४ र ४५ औंमा पाटन दरबार क्षेत्र, ४६ र ४७ औंमा पुतली, ४८ र ४९ औंमा बौद्धनाथ, ५० र ५१ औंमा भक्तपुर दरबार क्षेत्र, ५२ र ५३ औंमा महाकाली पुल, ५४ र ५५ औंमा कृष्णसार, ५६ र ५७म ा ट्रकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र), ५८ र ५९ औंमा रानीमहल, ६० र ६१ औंमा रारा ताल, ६२ र ६३औंमा माथिल्लो तामाकोशी र ६४ औंमा सिंहदरबारको तस्वीर रहनेछ ।
तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायाँसहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको थियो ।










प्रतिक्रिया दिनुहोस्