देउखुरी ।
दाङमा किसानसँग सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा सस्तोमा व्यवसायीले खरिद गरिरहेका छन् । सरकारी कम्पनीले खरिद गर्ने सुरसार नगर्दा किसानहरु सस्तैमा व्यवसायीलाई बेच्न बाध्य भएका हुन् ।
घोराही–६ का किसान लबरु चौधरीले मोटो धान २३ सय रुपैयाँ क्वीन्टलमा बेचेका छन् । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा भएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे । ‘ट्रयाक्टरले खेत जोतेको, थ्रेसरले दाउनी गरेको पैसा पनि नउठ्ने भयो । वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो,’ उनले भने ।
लमही–३ का रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आश गरेका थिए । गत वर्षभन्दा पाँच क्विन्टल धान बढेको पनि थियो । मसिनो धान २५ सयमा बेचेको उनले बताए । सरकारले तोकेको समर्थन मूल्य नपाएको उनको गुनासो छ ।
नेपाल सरकारले किसानबाट धान खरिद गर्नको लागि न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटो धान प्रति क्वीन्टल २७ सय र मध्यम खालको धान २९ सय रुपैयाँ प्रतिक्वीन्टल खरिद गर्न न्यूनतम समर्थन मूल्य छ ।
स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा २३ सय र मसिनो बढीमा २५ सय क्वीन्टलले खरिद गर्ने काम भइरहेको लमहीको कक्षपति राइस मिलका म्यानेजर मदन अधिकारीले बताए । पानीबाट बचेको धान मात्रै खरिद गरिरहेको उको भनाइ छ ।
बेमौसमी वर्षाले ७० करोड क्षति
दाङमा बेमौसमी वर्षाले आठ हजार ८८० हेक्टरमा गरिएको धानमा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जसअन्तर्गत ७० करोड मूल्य बराबरको धानमा क्षति पुगेको केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो ।
खाद्यले धान खरिद नगर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने भएको छ । धान खरिदका लागि हालसम्म केन्द्रबाट कुनै पनि जानकारी नआएको निमित्त प्रमुख नकुल चौधरीले बताए ।
‘धान खरिद गर्नभन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भन्ने जवाफ दिने गर्छन्,’ उनले भने । व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरिद गर्ने आशामा कृषकहरु रहेका थिए तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने भएको छ । वर्षाले धान खेतीमा क्षति पु¥याएको तथा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्दा कृषक थप मर्कामा परेका छन् । (रासस)









प्रतिक्रिया दिनुहोस्