शिक्षकलाई स्थानीय पाठ्यक्रमको प्रबोधीकरण



सुदीप अधिकारी । बर्दिया ।

ठाकुरबाबा नगरपालिकाका शिक्षकका लागि एक दिने प्रबोधीकरण गोष्ठी शनिबार सम्पन्न गरिएको छ । ठाकुरबाबा नगरपालिकाले तयार गरी विद्यालयहरुमा लागू गरिएको स्थानीय पाठ्यक्रम र पाठ्सन्दर्भ सामग्रीका बारेमा शिक्षकहरुलाई प्रबोधीकरण गर्न गोष्ठी आयोजना गरिएको हो ।

ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीमा नगरका सामुदायिक तथा संस्थागत विद्यालय गरी ५३ जना शिक्षकहरुको उपस्थिती रहेको ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी शाखा अधिकृत सीता भण्डारीले जानकारी दिइन् । गोष्ठीमा स्थानीय पाठ्यक्रम तथा पाठ्सन्दर्भ सामग्री निर्माण समितिका विज्ञ शिक्षक नन्दाराम अधिकारी, बालकृष्ण आचार्य, नवराज ढुंगाना र यज्ञ नेपालले सहजिकरण गरेका थिए ।

ठाकुरबाबा नगरपालिकाले विगत ३ वर्षदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो ठाकुरबाबा’ निर्माण गरी पठनपाठन गराउँदै आएको छ । यो पाठ्यक्रम कक्षा १ देखि ८ सम्म लागू गरिएको छ । हाम्रो ठाकुरबाबा नामक स्थानीय पाठ्यक्रममा उल्लेख गरिएका विषयबस्तु पठनपाठन गर्न सहजहोस् भन्ने उद्धेश्यका साथ ठाकुरबाबाले यस वर्ष पाठ्सन्दर्भ सामग्री पुस्तिक प्रकाशन गरेको छ ।

पाठ्सन्दर्भ सामग्रीमा समावेश भएका विषय बस्तुहरुका बारेमा जानकारी गराउन र स्थानीय पाठ्यक्रम पठनपाठनमा एकरुपता ल्याउन गोष्ठी आयोजना गरिएको शिक्षा शाखा अधिकृत सीता भण्डारीले बताइन् ।

पाठ्सन्दर्भ सामग्री प्रकाशनले स्थानीय पाठ्यक्रम पठनपाठनमा निकै सहजता ल्याएको त्रिभुवन नमुना माध्यमिक विद्यालय भुरीगाउँका शिक्षक केदार थारुले बताए । बर्दियाका ८ स्थानीय तहहरुमध्ये ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २८ गते आइतबार