कोहलपुर ।
बाँकेमा कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ को पहिलो मात्रा आजदेखि दीर्घरोगीहरुलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दीर्घरोगीहरुलाई लक्षित गरेर फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।
बाँके जिल्लाको लागि एक हजार आठ सय डोज फाइजर खोप आएको छ । खोप अभियानको लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भइसकेको खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए । ‘खोप अभियानको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ’ उनले मिसन टुडे दैनिकसँग भने, ‘आइतबार बिहान १० बजेदेखि अभियान सुरु गरिनेछ ।’
जिल्लामा दीर्घरोगीलाई खोप लगाउनको लागि एउटा मात्र खोप केन्द्र तोकिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा रहने खोप केन्द्र गएर खोप लगाउनुपर्ने खोप फोकल पर्सन श्रेष्ठले बताए । ‘मंसिर ४ गतेसम्म यो अभियान चल्नेछ’ उनले भने, ‘४ गते भन्दा अगाडि नै १८ सय डोज खोप सकिए । अभियान सकिन्छ ।’
दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइनेछ । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जानुपर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आजदेखि सुरु हुने अभियान अन्तर्गत खोप देशभरिका विभिन्न २४ वटा अस्पतालबाट मात्र लगाउन पाइनेछ ।
नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो । सोही खोप अहिले आएर लगाउन थालिएको हो । यो खोप मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकाहरुले लगाउन पाउँनेछन् ।
यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिकका रक्तनली सम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताए ।
फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभाकारी हुने अध्ययनले देखाएको छ । फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ । फाइजर खोपको दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।
कसले पाउँछन् खोप ?
- १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
- लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
- लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका र औषधि सेवन गरिरहेका बिरामी
- जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
- लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
- अंग प्रत्यारोपण गरेका व्यक्ति
- लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
- कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
- मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग आदी लागेका व्यक्ति









प्रतिक्रिया दिनुहोस्