देशभर सुरु भो जनगणना



कोहलपुर ।

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि देशभर एकैसाथ सुरु भएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने मूल नारासहित राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमका बीच जनगणना सुरु गरेकी थिइन् ।

भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत विवरण संकलन गरेर जनगणनाको राष्ट्रव्यापी रुपमा सुरु गरिएको हो । बाँके जिल्लामा पनि प्रजिअ सुर्यबहादुर खत्रीले जनगणनाको उद्घाटन गरेका थिए ।

बाँकेमा जनगणना सुरु हुनुपूर्व आठ वटै पालिकामा प्रभातभेरीको आयोजना गरिएको थियो । यसअघि जनगणनाको पहिलो चरण अन्तर्गत बाँकेमा पनि घर तथा घरपरिवारको सूचीकरण सम्पन्न भइसकेको छ ।

गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म बाँके जिल्लामा सुपरिवेक्षक खटाएर घर तथा घरपरिवारको सूचीकरण सम्पन्न गरिएको थियो । बाँकेमा लगभग १ लाख ३२ हजार घरधुरी सूचीकरण सम्पन्न भएका थिए । बाँकेमा घर तथा घरपरिवारको सूचीकरण गर्दा १४२ जना सुपरिवेक्षक खटिएको तथ्यांक कार्यालय बाँकेले जनाएको छ ।

जिल्लामा जनगणनाको लागि ६ सय २८ जना गणक खटिएका छन् । कार्यालय प्रमुख बेद प्रसाद ढकालका अनुसार गणकसहित स्थानीय जनगणना अधिकारी र कर्मचारी गरी सात सय भन्दा बढी जनशक्ति खटिएका छन् ।

बाँकेमा आठ पालिका छन् । जनसंख्या र भूगोलका आधारमा ६ वटा जनगणना सेन्टर तोकेर जनगणना सुरु गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २६ गते शुक्रबार