‘सूर्य चिन्हमा ग्रहण लाग्यो’



नेपालगन्ज ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् ।

बाँकेको नेपालगन्जमा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरेका हुन् ।

‘एमालेको चुनाव चिन्ह सूर्य ल्याउने मान्छे मै हुँ,’ अध्यक्ष नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्नेछन् न्यायको पक्षमा उभिने कलम नै हो ।’

पाँच पार्टीको गठबन्धन बनेको भन्दै समाजवादीका अध्यक्ष नेपालले आउने चुनावमा ‘केपी ओली गुट’ पत्तासाफ हुने दाबीसमेत गरे ।

सोही अवसरमा समाजवादीकै नेता रहेका संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले केपी ओलीका कारण मुलुकमा सम्बृद्धि स्थापित हुन नसकेको बताए । ‘गफ गर्ने तर काम नगर्ने ओली प्रवृत्तिलाई चिर्न जरुरी रहेको छ’ उनले भने, ‘उनकै कारण मुलुकमा सम्बृद्धि स्थापित हुन सकेन ।’

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २५ गते बिहीबार