नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालगन्जमा सञ्चालनमा रहेका सात हजार एक सय ८७ पसल व्यवसायमध्ये आधा दर्ताविनै सञ्चालन भएको उल्लेख गरिएको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रवर्द्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको बताए ।
‘अहिले पाइलट प्रोजेक्टको रुपमा काम सुरु गरेका छौं । चाँडै सम्झौता गरेर कार्यक्रम सञ्चालन हुनेछ ।’ उनले भने । उनले जनप्रतिनिधिलाई विकास भनेको भौतिक पूर्वाधार मात्र हो भन्ने धारणाबाटमाथि उठेर उद्यम व्यावसायले पनि विकासको स्वरुप लिन सक्छ भन्ने सन्देश दिन कार्यक्रम सञ्चालनमा ल्याउन लागेको उनले दाबी गरे ।
‘नेपालगन्जका उद्यमी नेपालगन्ज मै रोजगारी’ भन्ने नाराका साथ पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम सुरुवात गरेको र चाँडै नै दुवै पक्षबीचको सम्झौता गरी कार्यान्वयनमा ल्याईने तयारी भइरहेको डा. राणाले जानकारी दिए ।
कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा. कल्याण गौलीले व्यवासाय स्थापना गरिने तर त्यसको सञ्चालन, बजार आदिको बारेमा जानकारी नहुँदा सुरू गरेको केही वर्षभित्रै बन्द गर्ने परिपाटी बढी भएको कारणले व्यवसाय छनौट गर्न सिकाउँदै सञ्चालनका तौरतरिका पनि जानकारी गराइने बताए ।
‘व्यावसाय सन्चालनका लागि स्थापना गरेको दुई वर्षभित्र अधिकांश उद्योग व्यवसाय बन्द भएको पाइएको छ । धेरैजसो व्यावसाय देखासिखी गरेर सञ्चालन गरिएको छ ।’ अध्ययनको तथ्याङ्क सार्वजनिक कार्यक्रममा डा. गौलीले भने ।
सो कार्यक्रममा जीआईजेडका दिप्ती खकुरेलले कोभिड–१९ कारण सर्वेक्षण गर्नको लागि घर–घरमा जान असम्भव भएपछि फोनको माध्यामबाट एक हजार सात सय ८७ जनासँग कुरा गरी तथ्याङ्क तयार पारिएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्