बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– १४ मा रहेको समाज सेवा संस्था नेपालले एम्बुलेन्स खरिद गर्नका लागि देउसी भैलो खेलेर आर्थिक अभियान सञ्चालन गरेको छ ।
तिहारको अवसरमा संस्थागत रुपमै देउसी भैलो खेलेर एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुटाइएको हो । संस्थाका अध्यक्ष विनोद थापाले चार दिनसम्म खेलिएको देउसी भैलो कार्यक्रमबाट कुल १२ लाख रुपैयाँ संकलन भएको बताए ।
उनका अनुसार संस्कृति संरक्षणमा युवाहरुको सहभागितामा देउसी भैलो खेल्नुका साथै सामाजिक कार्य गर्नको लागि एम्बुलेन्स खरिद अभियान सञ्चालन गरिएको हो । सोही अभियान अन्तर्गत संस्थाको आयोजनामा खेलेको देउसी भैलो कार्यक्रमबाट मात्रै कुल १२ लाख ५९ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
एम्बुलेन्स खरिदका लागि सबैभन्दा बढी हुलास खाद्य उद्योगले १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस्तै कोहलपुर–१४ को कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको छ । एम्बुलेन्स खरिद गर्न थालिएको अभियानमा न्युनतम ५ सय रुपैयाँमाथि आफ्नो गक्ष्य अनुसार संस्थालाई नगद् सहयोग गरेका छन् । सहयोगी दातामध्ये केहीले नगद्, केहीले चेक हस्तान्त्रण गरेका छन् । भने केहीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाको एकमात्र कोहलपुर नगरपालिकाको अहिलेसम्म एउटा पनि एम्बुलेन्स छैन ।
कोहलपुरमा निजी क्षेत्रबाट रेडक्रस, विभिन्न क्लब तथा समूहहरुले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएका छन् । अध्यक्ष थापा भन्छन्, ‘हामीले नगरबासीको सहयोगका लागि एम्बुलेन्स खरिद गर्ने अभियान सञ्चालन गरेका छौँ । सोही अनुसार तिहारको अवसरमा देउसी भैलो खेलेका थियौं । सम्पूर्ण सहयोगी व्यतित्वहरुबाट अपेक्षा गरे भन्दा राम्रो सहयोग पाएका छौं ।’
समाजमा रहेका निमुखा, असहाय तथा अन्य नागरिकलाई सेवा दिनको लागि एम्बुलेन्स प्रयोग हुने उनले बताए । पुस अन्तिम सातासम्म एम्बुलेन्स खरिद गरेर सेवा सुरु गर्ने लक्ष्य रहेको थापाले जानकारी दिए । संस्थाको स्वामात्विमा रहने एम्बुलेन्स सञ्चालनमा भएमा वडाबासीले सुविधा पाउने कोहलपुर–१४ का अध्यक्ष टेकचन हरिजन बताए ।
उनका अनुसार संस्थाको अभियानमा साथ दिनको लागि वडा कार्यालयको तर्फबाट समेत आर्थिक सहयोग गरिएको छ । कोहलपुरका अन्य वडा भन्दा वडा नम्बर १४ मा एम्बुलेन्स अत्यावश्यक रहेकोमा उनले जोड दिए ।
हाल कोहलपुर नगरपालिका क्षेत्रमा निजी क्षेत्रका आधा दर्जन जति एम्बुलेन्स सञ्चालनमा छन् । तर कोहलपुर नगरपालिकाको स्वामित्वमा रहनेगरी एउटा पनि एम्बुलेन्स छैन । नगरपालिकाकाले कोभिड–१९ को बेलामा समेत भाडामा एम्बुलेन्स सञ्चालन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्