16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

निर्मला कुर्मी बेपत्ता प्रकरणः हत्या आरोपमा ७ पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८  

निर्मला कुर्मीमाथि दुर्व्यवहार गर्दै २०६६ माघ २० गते तत्कालीन संविधानसभा सदस्य बादशाह कुर्मी ।

नेपालगन्ज ।

लामो समयदेखि बेपत्ता रहेकी बाँके नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्य बराबरको जग्गा हडपेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो । एक वर्षदेखि बेपत्ता कुर्मीबारे छानबिन गर्न प्रहरीले आनाकानी गरेपछि अधिकारवादीले आन्दोलन नै गर्नुपरेको थियो ।

नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेर घटनाको सत्यतथ्य छानबिनका लागि दवाव दिइएको थियो । चर्को दवावपछि प्रहरीले कुर्मीको हत्या गरी बेपत्ता पारेको आरोपमा ७ जनालाई सोमबार नियन्त्रणमा लिएको हो । निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ७ जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

महिला अधिकार मञ्चले कुर्मीको न्यायको लागि आन्दोलन गरेको थियो । आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । अभियुक्तमध्ये पूर्वसांसद बादशाह कुर्मीले भदौंमा आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा आएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको थियो ।

अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको डीएसपी न्यौपानेको बताए । साथै सामान्य तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेमा अनुसन्धान थालिने प्रहरीले जनाएको छ । बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गर्न बाध्य भएको हो । समितिले नेपालगन्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएको प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि अदालतले आरोपीहरुलाई पक्राउ गर्न आदेश दिएको हो । गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वले गृहमन्त्री बालकृष्ण खाणसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको उल्लेख छ । २०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो ।

२०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा पूर्व सांसद बादशाह कुर्मी, रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुद्दा दर्ता भए पनि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउन आनाकानी गरिरहेको थियो । असारपछि मात्रै अनुसन्धान प्रक्रियाले निरन्तरता पायो । बलियो प्रमाण आवश्यक परेकाले अनुसन्धानमा समय लागेको बाँके प्रहरी बताउँछ ।

तर, अनुसन्धानले त्यतिबेला मात्रै तिव्रता पायो, जब कुर्मीको न्यायका लागि महिलाहरुले आन्दोलन थाले । बाँकेबाट काठमाडौंसम्म पदल यात्रा गरी न्यायको माग गरेपछि केन्द्रसम्म कुर्मी प्रकरणले चर्चा पाएको थियो । त्यसपछि मात्रै प्रहरी घटनासम्बन्धमा अनुसन्धान गर्न बाध्य भएको हो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २३, २०७८     12:11:10 PM  |