सीमामा सशस्त्र प्रहरीको बीओपी नहुँदा चोरी तस्करी व्यापक हुन्थ्यो । भारतसँग जोडिएका दाङका अधिकशं खुला सीमानाका कारण सीमा क्षेत्रका बस्तीहरू सुरक्षित थिएनन् । चोरी, तस्करी लगायतका गतिविधि मौलाएका थिए । तर, अहिले अवस्था केही फेरिएको छ । ‘खुला सीमा थियो । वारपारमा कोही कसैको रोक थिएन । तर अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौँ ।
राजपुर–७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले भने, ‘केही वर्ष पहिले घरका पशुचौपाय समेत रहन्थेनन्, घर आँगनबाटै चोरी हुन्थ्यो ।’ पूर्वको अर्नादेखि पश्चिमको भौवानाकासम्म ८३ किलोमिटर सिमा सडक रहेको छ । दाङ देउखुरी गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्र्तगत साना ठूला गरी ३४ वटा नाका रहेका छन् ।
सबै खुला सीमाना भएकाले नेपाल बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् । सरकारले एक वर्षअघिदेखि सीमा क्षेत्रमा सशस्त्रका बीओपीहरू स्थापना गरेको थियो । पहिले कोइलाबास नाकामा मात्रै बीओपी थियो । ८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा अहिले ५ वटा (बीओपी) ८ वटा फरवार्ड बेस, बोर्डर मोनिटरिङ् पोष्ट ३ वटा स्थापना गरिएको छ ।
८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा १२ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुनेछ । सुरक्षाको अवस्थालाई हेरेर केही दुरीको फरकमा सीमा क्षेत्रमा बीओपीहरू स्थापना गरिएका छन् । बीओपी स्थापना भएपछि विगतमा चोरी, डकैती र तस्करीबाट आजित भएका स्थानीयवासीले अहिले सुरक्षित महसुश गरिरहेका छन् । ‘पहिले व्यापारिक सामग्रीहरू व्यापक रूपमा खुलमखुला ओसार पसार हुने गथ्र्याे । अहिले खासै देख्न पाइँदैन ।
सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्छ, भैसाहीनाका निवासी अमृत खड्का भन्छन्, ‘भारतीयहरू नै गाउँमा आएर चोरी तथा लुटपाट मच्चाउँथे । स्थानीयहरू रातिको समयमा जाग्राम नै बस्थे ।’ त्यति मात्रै नभई महिलाले पहिरिएका सुनका गहना पनि जोगाउन गाह्रो थियो । तर, अहिले उनीहरूले त्यो समस्या हटेको छ ।
स्थानीयवासी अहिले रातमा सुकुनसँग निदाउन पाएका छन् । ‘पहिले घरका गोठमै बाँधेका राँगा भैसी पनि रातारात चोरी हुन्थे । राँगा–भैँसी जोगाउन पनि बाहिरै जाग्राम बस्नुपथ्र्यो । भैसाहीँ नाका निवासी स्थानीय सन्देश घर्ती सम्झन्छन्, ‘रातिमात्रै नभई दिउँसै पनि भारततिरबाट आउने व्यक्तिहरुले चोरी डकैती तथा लुटपाट मच्चाउने गर्थे ।’
विगतमा गाउँमा घरमै बाँधेका र चराउन लगेका गाईवस्तु पनि जोगाउन अप्ठ्यारो रहेको नाकाबासीहरु बताउँछन् । ‘भारतीय चोर तस्करहरूले नेपालतिर आएर रातारात रूखहरू पनि काटेर गाडीमा लोड गर्दै लैजान्थे । हामीले केही गर्न सक्दैन थियौँ ।’ स्थानीय पत्रिका केसीले भनिन्, ‘शान्तिको श्वास फेर्न पाएका छौँ । त्यो सम्झिँदा त अहिले हामीले निकै सुख पाएका छौँ ।’
सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएपछि अहिले त्यस्तो चोरी डकैतीका घटनाहरू घटेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दिनरात सुरक्षा गस्ती गरिरहेका छन् । बीओपी स्थापना भएपछि जनताले शान्ति महशुस गर्न पाएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको प्रजिअ रेग्मी बताउँछन् । उनका अनुसार पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुनिन्थ्यो । अहिले भने त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्