23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

‘सहकारी किसानको सारथी बन्नुपर्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८  

बर्दिया ।

स्थानीय स्तरमा खोलिएका सहकारी संस्थाहरु किसानका सारथी बन्नुपर्नेमा एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जोड दिएका छन् ।

कृषि सहकारीहरु किसानहरु भन्दा व्यवसायीमुखी भएको भन्दै उनीहरुले निम्न आय भएका किसानहरुको आयस्तर माथि उकास्न सहकारीहरुले भूमिका खेल्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

बर्दियाको बाँसगढीमा रहेको हाम्रो एकिकृत सहकारी संस्थाको प्रथम साधारण सभामा बोल्ने सरोकारवालाले कृषकहरुको जिवनस्तर माथि उकास्न अब सहकारीहरु सारथी बन्नुपर्ने बताए ।

जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाले कृषि सहकारीहरुले समेत सोचेजस्तो किसानहरुका पक्षमा काम गर्न सकेको भन्दै अब सहकारी किसानहरुको साथी भन्ने बेला आएको बताएका थिए । ‘सहकारी गरिब, किसान तथा सम्पूर्ण कृषकहरुको जीवनस्तर सुधार्ने सारथी बन्नुपर्छ’ उनले भने, ‘त्यसो हुनसके गरिब किसानहरुको जिवनस्तर समेत उकास्न सकिन्छ ।’

सोही अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले सहकारीले युवा पुस्तालाई उत्पादनमा जोड्नुपर्नेमा जोड दिए ।

‘सहकारीले युवा पुस्तालाई उत्पादनसँग जोड्नुपर्छ’ उनले भने, ‘स्थानीय सरकारले गर्नुपर्ने सबै खाले सहयोगहरु गर्नेछ ।’ बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले सहकारी आफ्नो लक्ष्यअनुसार अगाडि बढेको बताउँदै आगामी दिनमा समेत किसानमुखी कार्यक्रमहरु लागू गर्नुपर्नेमा जोड दिए ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्ने सहभागिहरुले सहकारीले कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्न आफ्नो लक्ष्य निर्धारण गरेकोमा प्रशसा गरेका थिए । यस्तै साधारण सभाले पुनः गोविन्द प्रसाद उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

सर्वसम्मत् रुपमा उपाध्यायको नेतृत्वमा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । जसको उपाध्यक्षमा इन्द्रजीत बुढाक्षेत्री, सचिवमा कृष्णराज अधिकारी र कोषाध्यक्षमा सन्तु काफ्ले रहेको संस्थाका अध्यक्ष उपाध्यायले जानकारी दिए । त्यसैगरी प्रकाश गौतम संयोजक रहनेगरी लेखा समिति समेत छनोट गरेको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८     10:17:49 AM  |