18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

यौन दुव्र्यवहार र छात्रा मृत्यु प्रकरणः दीपज्योती चिसापानीका प्रिन्सिपल कारागार चलान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८  

कोहलपुर ।

आफैंले अध्यापन गराउने छात्रालाई लामो समयदेखि यौन दुव्र्यवहार गरी आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेका प्रिन्सिपल कारागार चलान भएका छन् ।

बाँके जिल्ला अदालतले छात्रा ऐलिसा शाहलाई प्रलोभनमा पारी यौन शोषण गरी आत्महत्याका लागि बाध्य पारेको आरोपमा कारागार चलान गरेको हो ।

बैजनाथ गाउँपालिकाको चिसापानीस्थित दीपज्योती सेकेन्डरी स्कुलका प्रिन्सिपल दमन पाण्डे घटनाको करिब दुई सातापछि पक्राउ परेका थिए ।

मुद्दा कमजोर बनाउन पीडितका आफन्तलाई ढिलोगरी जाहेरी दिन लगाइए पनि आफन्तको आन्दोलनपछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो । सोमबार भएको थुनछेक बहसपछि अदालतले पाण्डेलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीले सुरुमा घटनाप्रति गम्भीरता नदेखाए पनि चौतर्फी दवावपछि मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । पाण्डेलाई सोमबार नै नेपालगन्ज कारागारमा चलान गरिएको छ ।

सरकारी वकिलको कार्यालयले बिहीबार पाण्डेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा पेश गरेको थियो । एलिसा कक्षा ११ मा अध्ययनरत भए पनि पहिलेदेखि भने पाण्डेकै स्कुलमा पढ्ने र छात्राबास पनि सोही स्कुलमै बस्दै आएकी थिइन् । १७ वर्षीया छात्रा शाहले आत्महत्या गरेपछि उनको मोबाइलमा प्रिन्सिपलसँगको आपत्तिजनक कुराकानी फेला परेको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८     10:13:55 AM  |