जहाजमा तीनवटा बँदेल ठोक्किए, दुर्घटना हुनबाट जोगियो सीता एयर



बँदेल ठोक्किएपछि धावनमार्गमा रहेको सीता एयरको जहाज

नेपालगन्ज ।

नेपालगन्ज विमानस्थलमा सीता एयरको डोर्नियर जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । मंगलबार बिहान करिब साढे ६ बजेको समयमा नेपालगन्जको धावनमार्गमा हुम्लाको लागि उडान भर्दै गरेको जहाजमा बँदेल ठोक्किएका थिए ।

सीता एयरको जहाज उडानको लागि पूर्वबाट पश्चिमतर्फ गुडिरहेको समयमा बिहान ६ बजेर २० मिनेटमा तीन वटा बँदेल जहाजमा ठोक्किएका हुन् । नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले जहाज उडान भर्नको लागि धावनमार्गमा गुडिरहेको बेला बँदेलहरु एक्कासी आएर ठोक्किएको जानकारी दिए ।

उनका अनुसार तीन वटा बँदेलका बच्चा सीता एयरको जहाजमा ठोक्किएका थिए । बँदेल ठोक्किदा जहाज रोक्न खोज्दा जहाजको अगाडीको भागमा सामान्य क्षती पुगेको छ ।

जहाजमा रहेका यात्रु तथा चालकदलका सबै सदस्यहरु सुरक्षित नै रहेको विमानस्थल प्रमुख झाले बताए । ‘जहाजमा केही क्षती भएको छ’ उनले भने, ‘जहाजमा रहेका १४ यात्रु र ३ चालकदलका सदस्य गरेर १७ जना सबै सुरक्षित हुनुहुन्छ ।’ जहाजका चालकले ब्रेक लगाएपछि तिव्र गतीमा रहेको जहाज धावनमार्गमा नै रोकिएको थियो ।

‘तिव्र गतिमा रहेको जहाज धावनमार्गभन्दा बाहिर गएको भए ठूलो दुर्घटना हुनसक्थ्यो’ विमानस्थल स्रोतले भन्यो, ‘पाइलटले सावधानी अपनाउदा ठूलो दुर्घटना ट¥यो ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले पनि उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएको बताए ।

उनका अनुसार जहाजसँग ठोक्किएका बँदेलका तीन वटै पाठा मरेका छन् । विमानस्थल नजिकै डुडुवा खोला र जंगल भएकाले बँदेल विमानस्थलमा आउने गरेको बताइन्छ ।

जहाजमा बँदेलका पाठा ठोक्किंदा अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल भाँचिएको थियो । दुर्घटना लगत्तै केही समय विमानस्थल बन्द गरिएपनि धावनमार्गबाट जहाज हटाएर ह्याङ्गरमा पु¥याइएपछि विमानस्थल सञ्चालन भएको विमानस्थल प्रमुख झाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १७ गते बुधबार