18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

बाघ गणनाको तयारी थालियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८  

कोहलपुर ।

नेपालमा रहेका राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणनाको तयारी थालिएको छ । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पाटे बाघ गणनाको लागि तयारी अगाडि बढाइएको जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिने बताए । झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उनले दाबी गरे ।

‘पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ’ उनले भने, ‘दुई/दुई ग्रिड अर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्ने हुन्छ ।’

चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो संख्या अहिले आएर बढेको हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी संख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुने पक्कापक्की छ । नेपालमा हरेक चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८     9:56:56 AM  |