18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

बाँकेका नकुन्नी मृत्यु र निर्मला बेपत्ता प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८  

नेपालगन्ज ।

बाँके जानकी गाउँपालिकाका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए ।

समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ ।

प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ । निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ । समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ ।

उक्त समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य रहेका थिए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८     11:18:24 AM  |