20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरको लक्ष्मी बैंकमा भत्ता लिन मध्यरातदेखि बृद्धबृद्धाहरु लाइनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८  

कोहलपुर ।

मध्य कात्तिकको अँध्यारो रात । बढ्दै गरेको चिसोको सिरेटो । वयस्कका लागि सामान्य नै भए पनि बालबालिका र बृद्धबृद्धाका लागि शरीर कमाउने नै हुन्छ ।

सोमबार बिहान दुई बजेतिरदेखि कोहलपुरमा रहेको लक्ष्मी बैंकमा बृद्धबृद्धाहरु आउन थाले । चिसो र अँध्यारो रातको वेवास्ता गर्दै उनीहरु बैंकको गेटमा लाइन लाग्न थाले । बिहान पाँच बजेसम्म त ६२ जना पुगिसकेका थिए । कोही काखमा बच्चा च्यापेर महिलाहरु आएका थिए त कोही आफ्ना परिवारको साथमा थिए ।

यो लाइन अरु केही नभई सामाजिक सुरक्षा भत्ता लिनेहरुको थियो । तिहार नजिकिँदै गर्दा सामाजिक सुरक्षा भत्ता लिनका लागि कोहलपुर–१२ का ज्येष्ठ नागरिक, एकल महिला तथा लक्षित वर्गका मानिसहरु आएका हुन् । बैंकले दिनमा ५० जनाभन्दा बढीलाई भत्ता दिन नसक्ने भन्दै कोटा निर्धारण गरेको थियो । कुपन छुट्यो भने लिँन पाइँदैन कि भनेर राति दुई बजे नै लाइनमा पुगेको मनमति सार्कीले बताइन् ।

उनी एकल महिलाको भत्ता लिनका लागि आएकी थिइन् । ‘ढिलो आए कुपन पाइँदैन । त्यसैले बिहानै लाइनमा बसेकी हुँ । अब कतिबेला बैंक खुल्छ र कुपन दिन्छन्,’ बिहान बैंकको गेटमा भेटिएकी सार्कीले बताइन् । चार महिनाको भत्ता लिन बाँकी रहेको उनको भनाइ छ । सरकारले दिने सोही भत्ताबाटै चाडपर्व मनाउने गरेको उनको भनाइ छ । ‘थोरै भए पनि घरखर्च चलाउन भत्ताले निकै सहज भएको छ । तर, कहिलेकाँहि भनेको समयमा नपाउँदा भने अप्ठ्यारो पर्छ ।’

मिसनकर्मी बिहानै रिपोर्टिङका लागि पुग्दा बैंक अगाडि बृद्धबृद्धाहरु निदाइरहेका थिए । कोही चियाको चुस्कीसँगै बैंकको ढोका खुल्ने प्रतिक्षामा थिए । घरबाटै कसैले ओढ्ने कम्बलसमेत ल्याएका थिए । तोकेको मितिबाहेक अन्य समयमा निकाल्न नमिल्ने भएका कारण पनि समस्या भएको सार्की बताउँछिन् । यस्तै, कोहलपुर खड्गवारका दयाराम खत्री पनि सोही लाइनमै थिए ।

‘अरु त मध्यरातदेखि नै आउनुभएको रहेछ । तर, म चाहिँ बिहान चार बजेतिर आएको हुँ । यहाँ आउँदा त लाइन धेरै भइसकेको थियो’ उनी भन्छन्, ‘खाताबाट छुट्टै निकाल्न मिल्ने बनाइदिएको भए सहज हुन्थ्यो । कोटा सिस्टम गर्दा हामीले दुःख पायौं ।’ उनको पनि चार महिनाको बृद्धभत्ता लिन बाँकी छ । तर, यसपाली तीन महिनाको मात्रै दिने भनिएकाले अझ समस्या बढेको उनको भनाइ छ ।

सरकारले लक्षित वर्गका लागि मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । बैंकिङ प्रणालीमा लगे पनि निकाल्न भने त्यति सहज छैन । छुट्टै खाताबाट निकाल्नका लागि एक महिना कुर्नुपर्छ ।

तर, आफूलाई आवश्यक पर्दा यसरी तोकिएकै मितिबाट लिनपर्ने बाध्यताका कारण सकस भइरहेको खत्रीको भनाइ छ । पहिले स्थानीय तहमार्फत क्याँस नै लिने व्यवस्था थियो । तर, त्यहाँ अनियमितताका साथै लिन झन्झट भएपछि बैंकिङ प्रणालीमा लगिएको हो । तर, बैंकिङ प्रणालीमा पनि त्यति सहज देखिँदैन ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८     11:13:49 AM  |