राजमार्गमा ज्यानमारा खाल्डा



सुदीप अधिकारी । बर्दिया ।

पूर्व–पश्चिम राजमार्गमा मानखोला–भुरिगाउँ सडकखण्डमा खाल्डाखुल्डी परेको महिनौ भयो । तर, अहिलेसम्म राजमार्ग मर्मत भएको छैन । राजमार्ग मर्मत नहुँदा यातायात संचालनमा कठिनाई भएको छ । पूर्वपश्चिम राजमार्ग अत्यन्तै व्यस्त राजमार्ग हो ।

यहाँ दिनहुँ सयौँ सानाठूला सवारी साधन चल्ने गर्छन् । महिनौं बित्दा पनि राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम पनि उत्तीकै बढेको छ । पूर्वपश्चिम राजमार्गको मानखोलादेखि भुरिगाउँसम्म करिब ४० किलोमिटर क्षेत्रमा सयौँ स्थानमा सानाठूला खाल्डाखुल्डी छन् । सबैभन्दा बढी खाल्डाखुल्डी रम्मापुरदेखि कतरनियासम्मको क्षेत्रमा छ । माछागढ बजार क्षेत्रमा पनि थुप्रै खाल्डाखुल्डी छन् ।

एउटा खाल्डो पार गर्न नपाउँदै अर्को खाल्डो आउँछ । खाल्डाखुल्डीका कारण सवारी दुर्घटनामा परेर ज्यानै जान सक्ने खतरा छ । यहाँ सवारी साधन चलाउन निकै सकस भएको छ । दिउँसो भन्दा रातीको समयमा चल्ने सवारीसाधन दुर्घटना हुने जोखिम बढेको सवारीचालकहरु बताउँछन् ।

रातीको समयमा विपरित दिशाबाट आएको गाडीलाई साइड दिँदा खाल्डोमा परेर दुर्घटना हुन सम्भावना बढी रहेको चालकहरु बताउँछन् । खाल्डाखुल्डीका कारण राजमार्ग गाडीलाई साईड दिनु पर्दा रोक्नु पर्ने बाध्यता छ ।

राजमार्गको कर्णाली चिसापानी खण्डमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी छन् । सडक मर्मतसम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय नेपालगन्जको हो । तर सडक डिभिजनले सडक मर्मतमा कुनै चासो दिएको छैन । स–साना खाल्डामा माटो हाल्ने काम मात्र भएको छ ।

केही समय अघि टालटुल पारेको ठाउँ पनि फेरी उस्तै खाल्डो परेको छ । सडकमा जहाँतही खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन निकै सास्ती हुने गरेको सवारी चालक दिनेश आचार्यले बताउँछन् ।

सडक बिग्रेका कारण यात्राको समय पनि लम्बिने गरेको चालक आचार्यले बताए । जहाँतही सडक भत्केकाले सवारीसाधनलाई पनि निकै मार पर्ने गरेको चालकहरु बताउँछन् ।

अती ब्यस्त हुने राजमार्गमा जहाँतही खाल्डाखुल्डी हुँदा सवारी चलाउन निकै कष्ट र जोखिम भएको स्थानिय प्रदीप भण्डारीले बताए । उनी भन्छन्, ‘राजमार्गमा कहाँ नेर खाल्डो छ । थाहै हुँदैन । एक्कासी खाल्डोमा पर्दा दुर्घटना हुने जोखिम बढी छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार