पालिका स्तरीय महिला भलिबल: नेपालगन्जलाई उपाधि



नेपालगन्ज ।

बाँके जिल्लाव्यापी पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उप–महानगरपालिकाले जितेको छ ।

खजुरा गाउँपालिका– २ गौघाटमा रहेको शुक्र भलिबल स्टेडियममा भएको फाइनल खेलमा कोहलपुर नगरपालिकालाई हराउँदै नेपालगन्जले उपाधि हात पारेको हो ।

आइतबार उपाधिको लागि भएको खेलमा नेपालगन्जले कोहलपुरलाई १९–२५, २५–१६ र २५–२२ सेटमा पराजित गरेको थियो । प्रतियोगिताको उप-विजेतामा कोहलपुर नगरपालिकाले चित्त बुझायो । उपाधि जितेको नेपालगन्ज उप–महानगरपालिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपविजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति बाँकेले जनाएको छ । यस्तै प्रतियोगितामा राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरे । तेस्रो र सान्त्वना भएका पालिकाले क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहले जानकारी दिए ।

गाउँ–गाउँबाट महिला भलिबल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको उनले दाबी गरे । आइतबार सम्पन्न भएको खेलमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार