कोहलपुरको सागर गेष्ट हाउसबाट चितुवाको छालासहित तीन पक्राउ



कोहलपुर ।

बाँकेको कोहलपुरबाट प्रहरीले एक थान चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलिले स्थानीय एक होटलबाट चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके राप्तीसोनारी गाउँपालिका– ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका– ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

उनीहरुलाई कोहलपुर–११ मा रहेको सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मारेर नियन्त्रणमा लिइएको थियो । कोठामा छापा मार्दा पक्राउ परेका तीनै जनाको साथबाट चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाड बरामद भएको डीएसपी खनालले बताए ।

‘वन्यजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सूचनाका आधारमा होटलमा विशेष टोलि पुगेको थियो’ उनले भने, ‘होटलमा कोठामा खानतलासी गर्दा चितुवाको छाला र हाड फेला परेको हो ।’

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने तयारी ईलाका प्रहरी कार्यालय कोहलपुर गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार