‘हाईप्रोफाईल’ जुवाडे पक्राउः अधिकांश एमाले र कांग्रेसका नेता



दाङ ।

जिल्लाको तुलसीपुरबाट प्रहरीले नेकपा एमाले र कांग्रेसका नेतासहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो जुवा खालबाट एमाले र कांग्रेसका नेतासहित ८ जनालाई प्रहरीले रंगेहाल पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा एमालेका नेता मानबहादुर रावत समेत रहेका छन् । तुलसीपुर उप–महानगरपालिका– ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नम्बर– ३ का इञ्चार्ज समेत हुन् ।

तुलसीपुर उप–महानगरपालिका वडा नम्बर– ६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा शुक्रबार अपरान्ह ४ बजेतिर कौडा खेलिरहेको अवस्थामा छापा हान्दा रावतसहित ८ जनाको साथबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए ।

पक्राउ पर्ने अन्यहरुमा तुलसीपुर उप–महानगरपालिका वडा नम्बर– ११ का ३१ वर्षीय रोहित न्यौपाने, वडा नम्बर–६ का ३१ वर्षीय चित्र बहादुर बस्नेत, सोही ठाउँका ४० वर्षीय मिन केतन गिरी, ३९ वर्षीय सुरेन्द्र हमाल, ४८ वर्षीय दिपेन्द्र गिरी, ३१ वर्षीय विवेक मल्ल र ३६ वर्षीय दिगम्बर गिरी रहेका छन् । गिरी र हमाल कांग्रेसका नेता रहेका छन् ।

पक्राउ परेकामध्ये केही यसअघि पनि पटक÷पटक जुवाको खालबाट पक्राउ परी कारबाही भोगिसकेका व्यक्ति रहेको खुलेको एसपी काफ्लेले जानकारी दिए । एमाले र कांग्रेसका नेताहरू नै जुवाको खालबाट पक्राउ परेपछि छोडिदिन भनेर तारन्तर नेताहरूले समेत फोन गरेर दबाब दिएको प्रहरी स्रोतले जनाएको छ ।

‘तारन्तार नेताका फोनहरू आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरूले छोड्न दबाब दिँदै नभए तत्काल सरूवा गरिदिने धम्की पनि दिन थालेका छन् ।’ पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

एसपी काफ्लेले भने आफूले कानुन कार्यान्वयनको सवालमा नियम अनुसार चल्ने जानकारी दिए । जुवाको खालबाट प्रहरीले जुवा खेल्न प्रयोग भएको कौडा थान १६, बिछ्याएको रातो दरी थान १ र म्याट्रिक्स थान १ समेत बरामद गरेको छ ।

जुवा खेल्ने र खेलाउनेहरुलाई मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिनासम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार