बाँकेको कोहलपुरमा रहेको एक होटलबाट प्रहरीले चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलिले शुक्रबार राति चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको हो ।
कोहलपुर– ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार वन्यजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी गाउँपालिका– ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका– ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
थप अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय बाँकेको जिम्मा लगाउने तयारी कोहलपुर प्रहरीले गरेको छ ।
चाड पर्व लक्षित सुरक्षा योजना लागू गरेको कोहलपुर प्रहरीले केही दिनअघि मात्र जुवा खालमा छापा मारेर ६ जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।









प्रतिक्रिया दिनुहोस्