खिलप्रसाद भुसाल बाँकेमा परिचित नाम हो । अहिले उनै भुसाल नेकपा एमालेको कोहलपुर नगरकमिटीमा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेभित्रको उदाउँदो नेताका रुपमा पनि भुसाललाई लिइन्छ । सम्भवतः पार्टी नेतृत्वमा पहुँच पुगे आगामी निर्वाचन सांसदका उम्मेदवारसमेत हुन् भुसाल ।
विसं २०२५ साल फागुन २५ गते पर्वतको फलेवास–११ कर्नासमा जन्मिएका भुसालको कम्युनिष्ट आन्दोलनमा निकै राम्रो छवि छ । सोही कारण पनि बाँकेमा उदाउँदो नेताका रुपमा लिइन्छ । यति मात्र होइन भुसालको परिवार पनि निकै ठूलो छ । आमा, सात दाजुभाई, भाउजु, पत्नी, भाइबुहारी, बैनी सहितको ३२ जनाको संयुक्त परिवार छ उनको । हाल भुसाल कोहलपुर नगरपालिक–२ सिद्दनगरका स्थायी बासिन्दा हुन् ।
अहिले कोहलपुरमा आगामी मेयर या यस क्षेत्रबाट संघीय सांसदका रुपमा दाबेदार मानिएका भुसालको राजनीतिक जीवन भने निकै लामो छ । १३ वर्षको उमेरदेखि नै उनी राजनीतिमा सक्रिय बनेका थिए । २०३८ सालमा नै उनी १३ वर्षको उमेरमा अनेरास्ववियूमा लागे । विद्यार्थी कालमा २०३९ सालमा अनेरास्ववियू भवानी विद्यापिठ माविको प्रारम्भिक कमिटी अध्यक्ष भए । पछि पिस्कर हत्याकाण्डको विरोध प्रदर्शनका बेला २०४० सालमा प्रहरीले उनलाई नियन्त्रणमा लियो । २०४१ सालमा भुसाल भारत पसे । त्यहाँ प्रवासी नेपाली संघको सम्पर्कमा पुगे ।
सानैदेखि सक्रिय भुसालले २०४५ सालमा पार्टी सदस्यका उम्मेदवार बने । साथै २०४३ देखि २०४५ सालसम्म भारतको फरिदावाद नगरकमिटीको सचिवको रुपमा जिम्मेवारी सम्हाले । साथै उनी २०४४–२०४६ सम्म दुई वर्ष प्रवासी नेपाली संघ भारत फरिदावादको नगर कमिटी अध्यक्षका रुपमा काम गरे । लामो समयको संघर्षपछि २०४६ साल कात्तिक १७ गते मात्रै उनले पार्टीको पूर्ण सदस्यता पाए । भारतबाटै नेपाली राजनीतिमा सक्रिय भुसाल २०४६ मा पुनः नेपाल फर्किए । फागुन ७ गतेदेखि सुरु हुने पञ्चायतविरुद्धको आन्दोलनमा सहभागी बने । आन्दोलनपछि उनी पुनः भारत नै फर्किए ।
पछि २०४७ सालमा पर्वत जिल्ला कमिटीमार्फत स्वदेश फर्किन अनुरोध भएपछि माघमा नेपाल फर्किए । नेपाल फर्किएपछि पर्वत जिल्लाको ७ नम्बर इलाका कमिटीको सचिवका रुपमा काम गरे । साथै उनी २०४८ को निर्वाचनमा पार्टीलाई जिताउन लागिपरे । २०४९ मा उनले नेतृत्व गरेको इलाका अन्तर्गत पर्ने सातै गाविसको नेतृत्वमा एमाले विजयी भयो । सोही वर्षको कात्तिक १७ गते भने उनी कोहलपुरमा बसाई सरी आए । कोहलपुर आएको एक वर्षपछि २०५० सालमा पार्टी सदस्यता पनि कोहलपुरमै सारे ।
कोहलपुर आएलगत्तै तत्कालीन रझेना गाउँ कमिटीको अध्यक्ष भए । साथै २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा रझेनामा अध्यक्ष र उपाध्यक्ष जिताउन भूमिका खेले । आफ्नै सक्रियताका कारण त्यसबेला नेतृत्वमा एमालेको जीत भएको भुसाल दावी गर्दछन् । यति लामो समय हुँदा पनि जिल्ला तहको नेतृत्वमा भने उनी पुग्न सकेका थिएनन् । अन्ततः २०६६ सालमा उद्योग वाणिज्य संघको कोषध्यक्षमा चयन भए । उनले पार्टीका तर्फबाट उक्त जिम्मेवारी पाएका थिए । आफ्नो कार्यकालमै सबैभन्दा बढी सफलता प्राप्त भएको भुसालको दावी छ ।
यस्तै, २०६८ साल कात्तिक २० गतेदेखि एमाले नगरकमिटी उपाध्यक्षका रुपमा चयन भए । २०७१ फागुनमा राज्य पुनरसंरचना हुनु पहिले भएको अधिवेशनबाट उनी नगर अध्यक्षमा निर्वाचित भए । पुनरसंरचनापछि भने उनी नगरसचिव बने । अहिले पुनः पालिका अधिवेशनबाट उनी नगर अध्यक्षमा निर्वाचित बनेका छन् । यसअघि भएको स्थानीय तह निर्वाचन र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा उनी उम्मेदवारका दावेदार थिए । नाम पनि लिस्टमा थियो । तर, उनलाई उक्त टिकट प्राप्त भएन । तै पनि उनले पार्टीप्रति आफ्नो भूमिका जारी नै राखे ।
आगामी निर्वाचनमा उनी तीन तहको सरकारका जाने प्रतिनिधिका लागि दावेदार हुन् । पार्टीभित्र तल्लो तहदेखि नै सक्रिय रुपमा लागेका भुसाल आफूले केही नपाए पनि पार्टीलाई सहयोगका लागि हरदम तयार भएको दावी गर्दछन् । आगामी निर्वाचनमा आफ्नो क्षेत्रमा एमालेलाई एक नम्बर बनाउन जतिसक्दो भूमिका खेल्ने उनको भनाइ छ ।
अहिले एमालेभित्रै पनि आगामी निर्वाचनमा तीनै तहका लागि भुसाल नै नेतृत्वका लागि दावेदार रहेको चर्चा पनि चल्दै आएको छ । समय र परिस्थितिले साथ दिए उनी हुन पनि सक्छन् । किनकी एमालेमा बाँकेका इमान्दार नेतामध्येमा उनी पनि एक हुन् ।











प्रतिक्रिया दिनुहोस्