कोहलपुरमा जुवाडे समात्न एम्बुलेन्स प्रयोग, साढे तीन लाखसहित ६ जुवाडे पक्राउ



कोहलपुर ।

बाँकेको कोहलपुरबाट साढे तीन लाख रकमसहित ६ जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले सोमबार मध्यराती जुवा खालमा छापा मारेर जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।

कोहलपुर नगरपालिका–०८ पिपिरीमा रहेको रुद्रबीर खड्काको घरमा भइरहेको जुवा खालमा प्रहरीले बिशेष सूचनाको आधारमा मध्यरातमा छापा मारेको थियो । जुवा खालबाट २ लाख ४९ हजार ७०५ रुपैयाँ, दुई गड्डी तास र जुवा खेल्न बिच्छाईएको चटाईसहित ६ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

त्यहाँ जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी एम्बुलेन्समा बिरामी बनेर सादा पोशाकमा पुगेको थियो । ‘जुवा खेलाइराखेको स्थानदेखि २ किलोमिटर टाढैको क्षेत्रबाट नै सुराकी दिनको लागि मान्छेहरु परिचालन गरिएको पाइयो’ प्रहरी स्रोतले भन्यो, ‘अन्य सवारी साधनमा जाँदा चिन्ने र पहिल्यै नै जुवाडेहरुलाई खबर हुन्थ्यो । त्यसैले बिरामी ल्याउन जान लागेको नाटक गरेर जुवा खालसम्म पुग्न सफल भएका हौं ।’

जुवा खालबाट पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का अमृत गिरी, सोही ठाउँकै रमेश थापा, बैजनाथ गाउँपालिका– ८ का रञ्जित वि.सी., वडा नम्बर–६ का धर्मराज रावत, कोहलपुर नगरपालिका वडा नम्बर– ५ का विशाल केसी र सोही ठाउँका युवराज बुढाक्षेत्री रहेको कोहलपुर प्रहरीले जनाएको छ ।

कोहलपुर प्रहरीले बजार क्षेत्रका होटल तथा जुवा खेलाउने घरहरुमा निगरानी बढाउन थालेपछि जुवाडेहरु गाउँ क्षेत्रमा केन्द्रित हुन थालेका छन् । केही दिनअघि कोहलपुर प्रहरीले बैजनाथको एक नर्सरीमा जुवा खेलिरहेको अवस्थामा नगदसहित तीन जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । जंगल क्षेत्र भएकाले त्यहाँबाट केही जुवाडेहरु भाग्न सफल भएका थिए ।

दसैं अगाडि मात्र कोहलपुर प्रहरीले हवल्दारपुरबाट जुवा खालमा छापा मारेर जुवाडेलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । सोमबार राती पक्राउ परेका ६ जनालाई जुवा ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारवाही अगाडी बढाइने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ११ गते बिहीबार