कोहलपुर ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जारी आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।
विभिन्न माग राख्दै शिक्षण अस्पतालका कर्मचारीहरु कार्तिक १ गतेदेखि आन्दोलित थिए । बुधबार तीन बुँदे सहमति भएपछि तत्कालको लागि कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको अध्यक्षतामा अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच वार्ता भएको थियो ।
‘मन्त्रालयबाट आएको टोलिले छानविन गर्ने भनेपछि हामीहरु तत्कालका लागि आन्दोलन स्थगित गरेर काममा फर्किएका छौं’ अस्पतालका एक कर्मचारीले भने, ‘फेरी माग पूरा नभए एक महिनापछि हामी आन्दोलनमा उत्रिनेछौं ।’
बुधबारको बैठकमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलिय तथा सर्वपक्षिय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्नेलगायतका सहमति भएका थिए ।
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको संयोजक भोलानाथ गुरागाइँको समितिले कर्मचारीका माग, अस्पतालको अवस्था लगायतका विषयमा अध्ययन गर्नेछ ।
अस्पतालका ११ सय बढी कर्मचारीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, वीमा र स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र बिदा थप व्यवस्थित हुनुपर्नेलगायतका माग राख्दै आन्दोलित थिए । कर्मचारीहरु आन्दोलनमा हुँदा अस्पतालको सेवा प्रभावित भएपछि स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनलाई वार्ताको माध्यमबाट समस्या समाधान खोज्न दवाव परेको थियो ।
वार्तापछि तत्कालका लागि कर्मचारीहरुले आन्दोलन रोकेसँगै अस्पतालका सबै सेवाहरु आजदेखि सुचारु हुनेछन् । ‘बिहीबारदेखि हामी सबै कर्मचारीहरु काम फर्किनेछौं’ अस्पतालका एक कर्मचारीले भने, ‘साथीहरु अब सहमतीअनुसार आफ्नो काममा फर्किनुहुनेछ ।’
यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल व्यवस्थापनले भने आर्थिक व्ययभार थपिने कुनै पनि माग पूरा गर्न नसकिने बताइसकेको
छ । मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनले भन्दै आएको विषयलाई यथार्थ अध्ययन गरेपछि मागहरु पूरा हुने नहुने खुल्नेछ ।









प्रतिक्रिया दिनुहोस्