एमाले कोहलपुरको सचिवमा घिमिरे र नेपालगन्ज अध्यक्षमा शाहको उम्मेदवारी



कोहलपुर : कात्तिक ९ गते नेकपा एमालेको देशभर पालिका  अधिबेशन हुँदैछ । १० औं महाधिवेशन कार्यपालिका अनुसार बाँकेका आठ वटै पालिका पनि अधिवेशन हुने भएको हो ।

सोही अनुसार सबै पालिकामा पूर्वतयारी सम्पन्न भइसकेको नेकपा एमाले बाँकेले जनाएको छ । अहिलेसम्म जिल्लाका नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको नेतृत्वको लागि दुई युवाले उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिकाको नगर अध्यक्षमा युवा नेता मोहित शाहले उम्मेदवारी दिने घोषणा गरेका छन ।

अनेरास्ववीयूको केन्द्रीय सचिवालय सदस्य रहेका शाहले  नेपालगन्ज अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनी करिब दुई दशकदेखि बाँकेको पार्टी र बिद्यार्थी  राजनीतिमा सक्रिय छन् ।

उनले अब अध्यक्ष भएर उप–महानगरपालिकाको जनताको सेवामा निरन्तर खट्ने र नेपालगन्ज बासी जनताको हक हित र अधिकारको लागि लड्ने समेत बताएका छन् ।

कोहलपुरको सचिवमा घिमिरेको उम्मेदवारी

यस्तै, नेकपा एमाले कोहलपुर नगर सचिवमा सुमन घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले राजनीतिमा युवा सहभागिता बढाउनको लागि आफूले उम्मेदवारी घोषणा गरेको घिमिरेले बताए ।

घिमिरेले कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसबाट अनेरास्ववीयुको राजनीति सुरु गरेका हुन् । उनी नेकपा एमाले कोहलपुर नगर कमिटी सदस्य र अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुन ।

उनले यसअघि अनेरास्ववियु बाँके क्षेत्र नम्बर १ क्षेत्रीय कमिटी सदस्य,क्षेत्रीय कमिटी अध्यक्ष,जिल्ला कमिटी सदस्य, हुँदै अहिले दोस्रो कार्यकाल केन्द्रिय सदस्यको रुपमा काम गर्दै छ्न । घिमिरे स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पसको सह–सचिव पनि रहेका छन ।उनले नगर क्षेत्रमा युवा नेतृत्व स्थापित गर्नको लागि आफूले उम्मेदवारी दिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ८ गते सोमबार