शिक्षण अस्पतालमा व्यवस्थापन र कर्मचारीको टकराव: बिरामीको उपचारमा समस्या



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बुधबार विहान ९ः३० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेकी थिइन्, बाँकेको बैजनाथकी सिता शाही । उद्देश्य थियो, प्युठानबाट आएकी आमाको उपचार गर्ने । अस्पताल पुग्न वित्तिकै नाम टिपाइन् । सयौं सेवाग्राही भएकोले लाइनमा बसिन् । उनी जस्तै अन्य सेवाग्राही पनि लाइनमै बसेर पालो कुरिरहेका थिए । सेवाग्राहीहरुको अत्यधिक चाप भएकोले घण्टौं कुर्दा समेत पालो पाइनन् ।

पालो कुर्दाकुर्दै घण्टौं बित्यो । तर मरिगए पालो आएन । दिउँसोको १ बजेतिर के पालो आउन लागेको थियो, एक अपरिचित व्यक्ति आएर केहीछिनमै सबै वार्ड बन्द हुने सूचना दिए । आमाको उपचार गराउने आशामा घण्टौं लाइनमा बसेकी शाही निरास भइन् । चेकजाँच गर्ने वार्ड नै बन्द भएपछि त्यहाँबाट घर फर्किनुको अर्को विकल्प रहेन । उनले भनिन्, ‘अघिल्लो रात सार्वजनिक आएकी आमाको उपचार त चेकजाँचसम्म हुन पाएन । घण्टौं कुराएर समय मात्रै बर्बाद भयो । बन्द हुन्छ भन्ने थाहा पाएको भए त आउने नै थिइनँ नी ।’

वार्ड बन्द भएपछि निरास भएर आमाको उपचारको लागि उनी नेपालगन्ज पुगिन् । यस्तै कोहलपुरमा बस्दै आएकी प्रतिभा विश्वकर्मा श्रीमान्को उपचारकाका लागि अस्पताल पुगेकी थिइन् । एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँचको लागि अस्पताल पुगेको बताउने प्रतिभा घण्टौं लाइनमा कुरेर उपचारै नपाएर फर्किनु परेको गुनासो गरिन् । ‘नाम लेखेपछि कर्मचारीले लाइनमा बस्न भने । घण्टौंसम्म पालो आउला भनेर बसियो । तर पालो आउँनै लाग्दा बन्द हुन्छ भने । त्यसैले रित्तो हात घर फर्किए’ उनले भनिन् ।

आधा दिन कटिसकेकोले घर जाने र अर्को नेपालगन्जतिर जानुपर्ला भन्दै स्थानीय मेडिकलमा सामान्य औषधि खरिद् गरेर घर फर्किइन् । अस्पताल जस्तो संवेदनशिल ठाउँमा बेलाबेलामा भइरहने यस्ता बन्दले सेवाग्राहीहरुलाई निकै सास्ती खेप्नुपरेको उनले बताइन् । पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल केही दिनयता अस्तव्यस्त रहेको छ । सेवाग्राही शाही र विश्वकर्मा मात्रै होइन यहाँ दैनिक उपचारको लागि आउनेहरु अप्ठ्यारोमा पर्ने गरेका छन् ।

शिक्षण अस्पतालमा रहेका विभिन्न तीन कर्मचारी संगठनले गरेको बन्दका कारण जिल्ला बाहिरबाट आउने तथा जिल्ला भित्रैका सेवाग्राहीहरुले दुःख भोग्न परेको हो । विभिन्न सात बुँदे माग गर्दै आन्दोलनरत कर्मचारीहरुले आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्दै आएका छन् । बुधबारदेखि आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिएका थिए ।

तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायतका मागसहित कार्तिक १ गतेबाट आन्दोलन सुरु गरेका कर्मचारीहरुले पहिलोदिन कालोपट्टी बाँधेर विरोध जनाएका थिए । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले संयुक्त रुपमा चारदेखि आन्दोलत गरिरहेका हुन् ।

आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्का कर्मचारीले पाउनैपर्ने भत्तासहित अन्य सुविधा नदिएका कारण आन्दोलनमा उत्रनुपरेको बताउँछन् । रातिको समयमा खटिने कर्मचारी, प्राविधिकहरुसहित सयौं कर्मचारी मर्कामा पर्दा समेत व्यवस्थापन पक्षले वास्ता नगरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

चार पुगिसक्दा समेत व्यवस्थापन पक्षले माग सम्बोधनको लागि समन्वय गर्नुको साटो माग सम्बोधन गर्न नसकिने खालका अभिव्यक्ति दिइरहेको आन्दोलन परिचालन समितिका सह–संयोजक कुश्माखर बस्यालले बताए । उनका अनुसार माग सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर जारी रहनेछ । यता बुधबारबाट कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेपछि अस्पताल व्यवस्थापन पक्षले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमार्फत व्यवस्थापन पक्षले अस्पताल अहिले आर्थिक संकटमा रहेको र अस्पताललाई थप आर्थिक व्यायभार पर्नेगरी तलव भत्ता बढाउन नसकिने स्पष्ट पारेको हो । कर्मचारीको आन्दोलनको बारेमा बोल्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोनाका कारण विद्यार्थी कटौती गरेका कारण अस्पताल अहिले पनि घाटामा चलिरहेको बताए ।

‘मेडिकल कलेजको आम्दानीको स्रोत एमबीबीएस कार्यक्रम हो । कोभिडकै कारण एक शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना भएनन् । अर्कोतिर कोभिडका कारण हामी आर्थिक संकट व्यवहोरिरहेका छौं’ कनौडियाले भने । अस्पतालको सबै वस्तुस्थिति थाहा हुँदा समेत कर्मचारीले बेमौसममा पानी परेजस्तो आन्दोलन गर्नु अराजकता भएको आरोप उनले लगाए ।

पछिल्लो पाँच वर्षदेखि अस्पतालको आर्थिक अवस्था कमजोर हुँदै गएको व्यवस्थापन पक्षले दाबी गरिरहेको छ । विभिन्न कारण अस्पताल आर्थिक रुपमा अस्पताल कमजोर हुँदै गएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ६ गते शनिबार