‘पुस्तक पढ्ने बानीको विकास गर्नुपर्छ’



मधुर पौडेल । बर्दिया ।

पुस्तकालयमा गएर किताबहरु पढ्नेहरुको संख्या घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । केही वर्ष अघिसम्म समेत पुस्तकालयमा किताब पढ्न आउनेहरुको संख्या धेरै भएपनि अहिले आएर न्यून भइसकेको उनीहरुले बताएका हुन् ।

बर्दियाको बाँसगढी सामुदायिक पुस्तकालयको पाँचौं साधारण सभा तथा अधिवेशनमा बोल्ने सरोकारवालाहरुले अब सामुदायिक पुस्तकालयहरुलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए । संविधान सभा सदस्य निर्मल सुवेदीले प्रत्येक स्थानीय तहहरुले अब एउटा सामुदायिक पुस्तकालय बनाउनुपर्ने बताए ।

‘पुस्तक पढ्ने बानीको विकासको लागि अब स्थानीय तहले सकेसम्म एउटा पुस्तकालय बनाउनुपर्ने देखिन्छ’ उनले भने, ‘पुस्तकको अध्ययनले धर्म, साहित्य तथा इतिहासको ज्ञान दिन्छ ।’ पछिल्ला समयहरुमा पुस्तकालयमा पुगेर किताब पढ्नेहरुको संख्या घटेपनि पुस्तकालयको महत्व भने यथावत् नै रहेको संविधान सभा सदस्य सुवेदीले बताए ।

बाँसगढी नगरपालिकाका सामाजिक विकास समितीका संयोजक तथा बाँसगढी नगरपालिका वडा नम्बर– ८ का अध्यक्ष तुलसी गौतमले सामुदायिक पुस्तकालयको विकास गर्नुपर्नेमा जोड दिएका थिए । ‘बाँसगढी सामुदायिक पुस्तकालयको तपाई हामी सबैजना मिलेर विकास गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ’ उनले भने, ‘स्थानीय सरकारले समेत सक्दो सहयोग गर्छ ।’ यस सामुदायिक पुस्तकालयले आम मानिसहरुको पठन शैलीमा समेत विकास गर्नुपर्नेमा समितीका संयोजक गौतमले सुझाव दिए ।

साधारण सभा तथा अधिवेशनमा आर्थिक वर्ष २०७७-७८को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७८-७८ को नीति तथा वार्षिक कार्यक्रम र अनुमानित आय व्यय प्रस्तुत गरिएको थियो । पुस्तकालय अध्यक्ष अम्बिका चापागाईले वार्षिक नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दहवा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा पुस्तकालयका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको पुस्तकालयका सचिव बलराम भुजेलले जानकारी दिए ।

पुस्तकालयका सह–सचिव एकनारायण अधिकारीका अनुसार सोही अवसरमा बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बाँसगढी बर्दियाको विकास र विस्तार गर्नका लागि युवा नेतृत्व उपसमितिमा रहेर सेवा गरेकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ६ गते शनिबार