20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बेमौसमीको वर्षाको असरः हालसम्म १०१ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७८  

कोहलपुर ।

अविरल वर्षाको कारण आईतबार बेलुकादेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १ सय १ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसोसम्म बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो ।

साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् ।

वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७८     8:50:09 AM  |