20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बेमौसमको वर्षा : अहिलेसम्म ८८ जनाको मृत्यु पुष्टि, ३० बेपत्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ४, २०७८  

काठमाडौं ।

बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिरोका कारण ज्यान गएको हो । आज मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि, बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो ।

विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।

यस्तै, कालिकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।

विपद्बाट २० जिल्ला प्रभावित भएका छन् । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ । रासस

 

प्रकाशित मितिः बिहिबार, कार्तिक ४, २०७८     9:44:50 AM  |