29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

भारतमा १२ डलरको खान मिल्ने ‘सुनको बर्गर’ लाई लिएर विवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ४, २०७८  

नयाँ दिल्ली ।

भारतमा जति सुनप्रतिको लगाव विश्वमा अरु कहिँ छैन । र हालैमा चाडपर्वको समयमा भनेर खान मिल्ने सुनको जलप लगाइएको ‘बर्गर’ ले सबैतिर नयाँ बहस सुरु गराएको छ । मुम्बइका रेस्टुरेन्टहरुमा यस किसिमका बर्गर प्रदान गर्न सुरु गरिएसँगै यसको अधिकतम माग बढेको छ । कतिले चाहिँ यसप्रति गुनासो र हाँसो पनि व्यक्त गरिरहेका छन् ।

तर राम्रो व्यापार भएपछि सो रेस्टुरेन्टले अहिले देशैभरि यसका अन्य ब्रान्च पनि खोल्ने योजना बनाइरहेको छ । ‘द लुइस ग्रान्ड रोयेल’ मा ‘डबल बफ प्याटी’ को खान मिल्ने सुनको जलपयुक्त ‘बन’ राखेर, ६९५ भारुमा यो बर्गर बेचिराखिएको छ ।

त्यस्तै अर्को ‘ट्रफल टेक बर्गर’ जसमा च्याउ, मेयो, शिमेजी लगायत राखेर बनाइने सुनको बर्गरलाई चाहिँ ११.५५ अमेरिकी डलर अर्थात भारु ८८८ मा विक्री गरिन्छ । यो भनेको भारतमा औसत दैनिक श्रमिकको दुई दिनको तलब हो ।

तर माग बढिरहेपनि लुइस बर्गरप्रति सबै खुसी छैनन् । मुम्बइका वासिन्दा, प्रतिक मेहराले लुइस बर्गर खाएको तर त्यसमा भएको सुनको जलपले स्वादमा कुनै फरक नपारेको र त्यो भन्दा आधा कम दाममा खाइने अन्य साधारण बर्गर जस्तै भएको भनेर प्रतिक्रिया दिएका छन् ।

भारत बाहेक एकदम कमै मुलुकमा यस किसिमले सुन चाँदीको जलपयुक्त खानेकुरा प्रति मानिसहरुको रुची छ । चीनपछिको सबैभन्दा ठूलो सुन खरिदकर्ता भारतले २०२० मा गरगहनाका लागि मात्र ३१५.९ टन सुन खरिद गरेको थियो ।

तर भारतमा लामो समयदेखि खानेकुराहरुमा पनि सुनको प्रयोग गरिँदै आएको छ । सुनको पाउडर, टुक्रा त्यहाँ खान मिल्ने गरी राखिन्छ । १७ औँ शताब्दीको मुगल युगदेखि नै यो चलन रहेको थियो जहाँ खाना पकाउने शेफहरुले सुन या चाँदीको जलपयुक्त परिकार अतिथिहरुलाई दिने गर्दथे ।

त्यस्तै शर्बत र ठन्डाइ अनि जेरी, बर्फी लगायतमा पनि यसको अधिकतम प्रयोग हुने गर्दछ । यता करी, पनिरका परिकारमा पनि माथिबाट सुनले सजावट गर्ने चलन रहेको छ ।

त्यसैले भारतमा मनाइने सबैभन्दा ठूलो पर्व दिवालीका अवसरमा अहिले देशैभरका पसलहरुमा उपहार दिन चाँदीको जलप भएका फलफुल अनि नट्स विक्री गर्न राखिएको छ ।

दिल्लीमा आधारित सुनको काम गर्ने राम दिनका अनुसार खान मिल्ने सुनका पत्ता बनाउन त्यसको मोटाइ प्रति मिलिमिटर ८ हजारौँ भाग नपुग्दासम्म यसलाई निरन्तर हम्मरले हिर्काइरहनु पर्दछ । र मान्छेले सेवन गर्न २२ देखि २४ क्यारेटको सुन मात्र योग्य मानिन्छ । त्यस्तै यसलाई तयार पार्दा सरसफाइको पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ ।

खान मिल्ने सुनका परिकारलाई विश्वकै सबैभन्दा महङ्गो खानेकुरा मानिन्छ । जसलाई प्रति ५०० ग्राम १५ हजार अमेरिकी डलरसम्म विक्री गरिँदै आएको छ ।

पाँचतारे होटल ताज महलमा यसैका लागि भनेर शिर्ष नेता र बलिउड स्टारहरु पनि जाने गर्दछन् । त्यहाँकत खानेकुरा मात्र नभएर फर्किनचर, सिलिङ लगायत सबैमा सुनको जलप हुन्छ ।

यसमा एउटा परिकारको औसत मूल्य भनेकै १ हजार भारु पर्दछ ।

कतिपय आयुरवेदीक अभ्यासकर्ताहरुले सुन सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुने दाबी पनि गर्दछन् । सुनको धुलो औषधिमा मिसाउनुले दिमागी क्षमता बढाउने तिनको विश्वास छ । तर आधुनिक डाक्टर र न्युट्रिसनविद्हरुले चाहिँ सुन सेवन गर्नुले स्वास्थ्यमा सुधार ल्याउने कुनै प्रमाण नभएको बताउने गरेका छन् ।

दिल्ली स्थित न्युट्रिसनिस्ट स्वाती प्रकाश भन्छन् , “शुद्ध खान मिल्ने सुन हाम्रो रगत नलीमा मिसिन सक्दैन । त्यसैले यसको कुनै स्वस्थकर लाभ छैन । यो केबल हाम्रो शरीरबाट फोहोरका रुपमा बाहिरिन्छ । ”

साउथ चाइना मर्निङ पोस्टबाट

प्रकाशित मितिः बिहिबार, कार्तिक ४, २०७८     9:42:19 AM  |