19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

पति हत्याको अभियोगमा अष्ट्रेलियामा नेपाली महिलालाई ३ वर्षको जेल सजाय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७८  

काठमाडौं ।

पति हत्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष जेल सजाय सुनाएको छ । नियोजित नभई भवितब्यमा पति सन्तोष मारिएको पुष्टी गर्दै अदालतले तीन वर्षको मात्र सजाय सुनाएको हो ।

आपसी झगडामा पतिले भान्साको चक्कुले आक्रमण गरी घाइते बनाएकी नुमाले सोही चक्कु प्रहार गर्दा उनका पति सन्तोषको मृत्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

नुमा गौतमको उद्देश्य उनका पतिलाई मार्ने नरहेको तर भबितब्यमा मारिएको अदालतले जनाएको छ । यो घटना अष्ट्रेलियाको ग्रानभिलमा २०१९ को नोभेम्बरमा भएको थियो ।

पैसाका कुरा उनीहरुबीच झगडा भएको बताइएको छ । ती नेपाली महिलालाई उनको ३६ औं जन्मदिनको दिन जेल सजाय तोकिएको हो ।
सजाय सुनेपछि गौतमले भनेकी छन्, ‘मैले सबैथोक गुमाएँ ।’

सन्तोष र नुमाबीच सन् २००७ मा मागी विहे भएको थियो । उनका पतिले रक्सी पिएर यौन दुर्व्यवहार गर्ने गरेको न्यायाधीश लियोनी फ्ल्यानरीले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान रक्सी पिएर आउने र यौन सम्बन्धका लागि दबाब दिने गर्थे ।

न्यायाधीशले फैसलामा लेखेका छन्, ‘उनीहरुबीचको यौन सम्बन्ध पीडादायी हुने गर्थ्यो । पति सन्तोषले कण्डम लगाउन नमान्दा नुमा ५ पटक गर्भवती भएकी थिइन् । सन्तान पाल्ने अवस्था नहुँदा नुमाले पाँचै पटक गर्भ पतन गराएकी थिइन् ।’

नोभेम्र २३, २०१९ को शनिवार सन्तोष साँझमा घर फर्किए । जब नुमाले गुड फ्राइडे मनाउने क्रममा सन्तोषले २ हजार डलर खर्च गरेको थाहा पाइन्, त्यसबाट उनीहरुबीच झगडा शुरु भएको थियो ।

पति पत्नीबीचको झगडा भौतिक आक्रमणमा बदलियो । हात हालाहाल हुँदै गर्दा भान्सामा राखिएको चक्कुले प्रहार गरेपछि नुमा घाइते भइन् । सोही चक्कु उनले सन्तोषलाई प्रहार गर्दा मृत्यु भयो ।

उनलाई सजाय सकिएपछि नेपाल डिपोर्ट गर्ने सम्भावना छ । तर नुमाले नेपाल फर्किएर उनको परिवारसँग बस्न सक्ने अवस्था नरहेको भन्दै अष्ट्रेलियामै रहन चाहेको अष्ट्रेलियाको एक समाचार संस्था न्युज डट कमले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७८     11:07:52 AM  |