25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

पश्चिमबाट पूर्वतर्फ सर्‍यो वर्षा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७८  

काठमाडौँ । 

नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ ।

बुधबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, वाग्मती र गण्डकीमा बुधबार भारी वर्षाको सम्भावना छ ।

बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए । उनका अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।

दुई दिनमा मुलुकका विभिन्न ठाउँमा भएको वर्षा

हाल देशको प्रदेश १, २, वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७८     9:52:26 AM  |