कोहलपुर :
जल तथा मौसम विज्ञान कार्यलय कोहलपुर बाँकेले लगातार वर्षाका भइरहेका कारण सचेत रहन आग्रह गरेको छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र रहेको कार्यलयले आइतबार देखि लगातार भइरहेका वर्षाका कारण नदि तथा तटीय क्षेत्रका नागरिकलाई सचेत रहन भनेको हो ।
कैलाली स्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको हुँदा कर्णाली नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुनेहरूले आज राती सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
कार्यालय प्रमुख विनोद पराजुलीका अनुसार पछिल्लो अपडेट अनुसार कर्णाली नदिमा पानीको बहाव खतराको विन्दु भन्दा माथि गइसकेको छ ।
त्यसले गर्दा अहिले सुदूरपश्चिम प्रदेशमा बाढी तथा डुवानका कारण जनजीवन कष्टकर बनिरहेको छ । बाढी तथा डुवानका लागि फसेकाहरुलाई उद्धार गर्न गृह मन्त्रालयले हेलिकप्टर परिचालन गरेको छ ।
तर मौसम सफा नभएका कारण हेलिकप्टर अवतरणमा समस्या भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यस्तै बबइ नदिमा समेत पानीको बहाव खतराको नजिक रहेको उनको भनाइ छ ।
कार्यालय प्रमुख पराजुलीले बाँकेस्थित राप्ती नदिमा भने अहिलेसम्म खतराको कुनै संकेत देखा नपरेको उनले बताए । आइतबारदेखि सुरु भएको लगातारको वर्षाका कारण सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । भिर्याउनै लागेका धानमा पानीले भिजेका छन् । जसका कारण महिनौ यहाँका किसानको पसिना पानीले बगाइदिएको छ ।










प्रतिक्रिया दिनुहोस्