कोहलपुर मेडिकल कलेजमा सुत्केरीको मृत्युपछि तनावः आफन्तले बुझ्न मानेनन् शव



कोहलपुर ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको छ । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको बताउँदै शव बुझ्न नमानेपछि तनाव उत्पन्न भएको हो ।

कैलाली, गौरीगंगा–९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा (छोरा) निकालिएको थियो । शल्यक्रियापश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन् ।

सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास भएको र चिकित्सकको लापरबाहीकै कारण मृत्यु हुन पुगेको भन्दै शव नबुझ्ने मृतकका जेठाजु रमेशबहादुर धामीले जानकारी दिए ।

प्रसव पीडाले सताएपछि कमलाका श्रीमान् र जेठाजुले सुरुमा असोज २७ गते कैलालीस्थित सेती अस्पतताल धनगढी पु¥याएका थिए । त्यहाँको अस्पतालले शिक्षण अस्पताल कोहलपुरमै रेफर गरेपछि असोज २८ गते बिहान ३ बजेतिर ल्याएर भर्ना गरेका थिए । डाक्टरसँगको सल्लाह, परामर्शअनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो ।

‘शल्यक्रिया गरेर जुम्ल्याहा छोरा जन्मियो, बेलुका ६ बजेतिर बुहारीलाई नर्मल वार्डमा ल्याएर सारियो,’ जेठाजु रमेशले भने, ‘त्यसपछि बेलुका ७ बजेतिर बुहारी एक्कासी बेहोस् भइन्, हामी अत्तालियौं, डाक्टरलाई खोज्यौं, बल्लतल्ल राति १० बजे मात्र नर्सले आइसियुमा राखे ।’ रमेशका अनुसार अप्रेशनपश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन् ।

आफूहरूले अस्पताल डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र हेलिकप्टरबाट भए पनि कमलालाई काठमाडौंको अस्पतालमा लैजान तयार रहेको बताउँदा पनि बेवास्ता गरेको उनको आरोप छ । आइसियुमा भर्ना भएकी बुहारीको होस नखुलेरै मृत्यु भएको र कुन समयमा मृत्यु भयो भन्ने समेत आफूहरूलाई अस्पतालले जानकारी नदिएको रमेशले बताए ।

‘बेहोस के कारणले भएको हो, मृत्यु किन भयो ?’ भन्ने प्रश्न डाक्टर र नर्ससँग बारम्बार राख्दा पनि एकिन जवाफ पाउन नसकेको उनले सुनाए । ‘कहिले ब्लडमा इन्फेक्सन, कहिले मुटुले काम गरेन, कहिले सुगर समस्या जस्ता बहाना बनाएर डाक्टर पन्छिने काम गर्दैछन्, अस्पतालले यसको सत्यतथ्य कुरा बाहिर नल्याउँदासम्म र यसको छानविन नहुँदासम्म हामी शव बुझ्दैनौं,’ उनले भने ।

यता अस्पतालमा कुनै अप्रिय घटना घट्न नदिनको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट समेत प्रहरी परिचालन गरिएको छ । सहमतीबाट समस्याको समाधान गर्ने प्रयास गरिएपनि यो समाचार तयार पर्दासम्म अस्पताल र पीडित पक्षबीच सहमती हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार