दसैं पछि कारोबारमा आएको दोस्रो दिन सोमबार शेयरबजार ६९.५ अंकले घटेको छ ।
सोमबार दोहोरो अंकले घटेर नेप्से २५८७.४५ अंकमा आइपुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १२.४३ अंकले घटेर ४८४.९३ अंकमा आइपुगेको छ ।
कारोबार सुरु भएसँगै निरन्तर घटेको नेप्से ७२ अंकसम्मले घटेको थियो, तर अन्तिम समयमा केही सम्हालिएर नेप्से ६९ अंकले घट्न पुगेको हो ।
त्यस्तै आज कारोबारमा आएका २ सय १८ कम्पनीको ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा कारोबार भएको छ । आज कारोबारमा आएको व्यापार समूह बाहेक सबै समूहको सूचक घटेर राताम्मे बनेको छ ।
जसमा सबैभन्दा धेरै वित्त समूहको ४.२६ प्रतिशत, जलविद्युतको ३.७६ प्रतिशत ,निर्जीवन बीमाको ३.५६ प्रतिशत र विकास बैंकको ३.४४ प्रतिशतले सूचक घटेको छ । व्यापार समूहको भने ०.६३ प्रतिशतले सूचक बढेको छ ।
यस्तै आजको कारोबारबाट १८२ कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको मूल्य बढेको छ । बढ्नेमा महालक्ष्मी विकास बैंकको २ प्रतिशत, साल्ट ट्रेडिङको १ प्रतिशत भन्दा धेरैले मूल्य बढेको छ भने घलेम्दी हाइड्रो पावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
युनाइटेड मोदी, कालिका पावर, युनिभर्सल पावर, बरुण हाइड्रो लगायतका कम्पनीको ७ प्रतिशत भन्दा धेरैले मूल्य घटेको छ ।
कारोबारको आधारमा भने नबिल बैंक अगाडि छ । यो बैंकको ९ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ भने सानिमा बैंक, हिमालयन डिष्टिलरी, अपी पावर लगायतका कम्पनीको धेरै संख्यामा कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्