एउटा फेसबुक पोस्टले भड्कियो हिंसा, बंगलादेशमा हिन्दुमाथि आक्रमण हुँदा तीनको मृत्यु



बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि कयौँ दुर्गा पूजास्थलमा तोडफोड भएको छ। यस क्रममा कम्तीमा पनि १५० अल्पसंख्यक परिवारमाथि हमला भएको छ। यो हिंसामा कम्तीमा ३ जनाले ज्यान गुमाएका छन्।

बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजास्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भड्किएको हो।

त्यसपछि उक्त इलाकामा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। पुलिसका अनुसार हिंसामा तीन मानिसको ज्यान गएको छ। अन्य दुईजना गम्भीर घाइते भएका छन्।

पुलिसले कयौँ हिन्दू मन्दिर, घर र दोकानमा तोडफोडमा संलग्नमाथि कारबाही अघि बढाएको छ। यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन्। स्थानीय समुदायका नेताहरु पहिले पनि यस क्षेत्रमा हिंसा भड्किएको बताएका छन्।

सन् २०११ को जनगणना अनुसार बंगलादेशको १४ करो ९० लाख जनसंख्यामा ८.५ प्रतिशत हिन्दू छन्। कोमिल्ला जिल्लासमेत कयौँ अन्य जिल्लामा हिन्दुहरुको बसोबास छ।

समाचार अनुसार एक फेसबुक पोस्टमा दुर्गा पूजास्थलमा कुरान राखेर अपमान गरिएको दाबी गरिएको थियो। त्यसपछि चान्दपुरको हबीबगञ्ज, चटगाउँको बान्सखाली, कक्स बजारको पेकुआ र शिवगञ्जको चापाईनवाबगन्ज समेत कयौँ स्थानमा हिंसा भड्किएर हिन्दूका संरचनामाथि तोडफोड भएको हो।

बंगलादेशका गृहमन्त्री असदुज्जमानले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सरकारले यस घटनालाई गम्भीरताका साथ लिएको बताएका छन्। उनले कोमिल्लामा आक्रमण गर्नेलाई चाँडै गिरफ्तार गर्ने बताए। यो मामिला पनि धार्मिक साम्प्रदायिकता भड्काउन गरिएको हुन सक्ने उनले बताएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २८ गते बिहीबार