ढकेरी क्षेत्रमा पाटेबाघ देखिएपछि आवतजावतमा कडाई



पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुर ढकेरी खण्डमा पाटेबाघ देखिएपछि सवारी आवगमनमा कडाई गरिएको छ । यो सडक खण्डको झिझिरी खोला नजिकै बिहीबार बिहान पाटेबाघ देखिएको थियो ।

पाटेबाघ देखिएपछि आवतजावतमा नेपाली सेनाले कडाई गरेको हो । दिउँसोको समयमा कोहलपुर–ढकेरी सडक खण्डमा नेपाली सेनाले समूहमा मात्र बाईकहरुलाई आवतजावत गर्न दिइरहेको छ ।

दसैंलाई मध्यनजर गरेर यो सडक खण्डमा केही दिनयता सेनाले दिउँसोको समयमा दुई पांग्रे सवारी साधन आवतजावत गर्न सहज बनाएपनि बिहीबार पाटेबाघ देखिएपछि समूहमा मात्र यात्रा गर्न दिइरहेको छ ।

भदौंको अन्तिममा कुसुम क्षेत्रमा पाटेबाघको समूह नै देखिएपछि राजमार्गमा आवतजावत गर्दा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले कडाई गरिरहेको थियो ।

पछिल्लो समय पाटेबाघ देखिरहेकोले राजमार्ग यात्रा गर्नेहरु तथा निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्न मानिसहरुलाई सर्तकता अपनाउन बाँके निकुञ्जले आग्रह गरिरहेको छ । निकुञ्ज क्षेत्रमा घर पालुवा जनावर चराउन नलैजान समेत निकुञ्जले आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २८ गते बिहीबार