18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८  

काठमाडौँ।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको बताएका छन् । विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’

उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन ।’ लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको उनको भनाइ छ ।

उनले प्रश्न गरेका छन्, ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त रु’ कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै उनले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म(संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सु्रक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले बताएका छन् । पूर्वराजाले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन र त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजिदैन ।’

सन्देशमा उनले भनेका छन्, ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।’

प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     8:34:56 AM  |