15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

मुगु यात्रुबहाक बस दुर्घटनाः मृत्यु हुनेको संख्या ३२ पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएको हो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको उनले बताए ।

‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं,’ उनले भने,’बाँकेमा अहिले भर्खरै बुझ्दा थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ।

कुल मृत्यु हुनेको संख्या ३२ पुग्यो।’ घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको उनले बताए। समिट एअर र नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपालगञ्ज उपचारका लागि लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

नेपालगन्जबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     5:48:04 PM  |