21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

सडकको सास्तिविरुद्ध खजुरामा चक्काजाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

नेपालगन्ज ।

बाँके खजुरा बजार क्षेत्रका नागरिकहरुले निर्माणधिन सडकका कारण सास्ती भोग्नुपरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले विरोधस्वरुप आइतबार खजुरा बजारमा दुई घण्टा चक्काजाम गरेका हुन् ।

धनौलीदेखि एक नम्बरसम्मको सडक निर्माणमा ढिलाई हुँदा स्थानीयबासी एवं यात्रुहरुले धुलो सहनुपरेको, ढुंगा र गिट्टि उछिट्टिएर छेउछाउका पसल एवं घरहरुका सिसा फुट्न थालेको, दुर्घटना पनि अत्यधिक हुन थालेको स्थानीयहरु आन्दोलित भएका छन् ।

‘कति गाडीका सिसा फुटेका छन्, कति पसलका हजारौं मूल्य पर्ने सिसा फुटेका छन् । ढुंगा उछिट्टिएर सडकमा हिड्ने मान्छेको खुट्टामा, छातीमा टाउकामा ढुंगाले चोक लागेको छ । यसको क्षतिपुर्ति कसले दिन्छ ?’ स्थानीय रमेश सिंजालीले भने, ‘अनि धुलो त्यस्तै छ । न निर्माण कम्पनीले चाडो काम गर्छ । न बाटो सहज बनाउन सडक विभागले ध्यान दिन्छ ।

स्थानीय सरकार पनि मुकदर्शक भएर बसेको छ ।’ निर्माण कम्पनीले करिब ३ वर्षसम्म २ किलोमीटर बाटोसमेत निर्माण सम्पन्न गर्न नसक्दा स्थानीय सास्ती भोगेका हुन् । सडक निर्माण पनि सुस्त गतिमा भइरहेको र त्यसमाथि निर्माणाधिन सडकले उत्पन्न सहजता कम गर्नेतिर सम्बन्धित निकायले ध्यान नदिँदा विरोध गर्नुपरेको स्थानीयवासी एवं कांग्रेस नेता राजेन्द्र आचार्यले बताए ।

तरुण दलका क्षेत्रीय सभापति सन्तोष अधिकारीले काममा ढिलाई गर्ने कम्पनी, सडक विभाग र स्थानीय सरकार उत्तिकै जिम्मेवार रहेको बताउँछन् ।

‘स्थानीय सरकारले जनतालाई भइरहेको सास्ति हेरेर बस्ने कि, त्यसको समाधान पनि खोज्ने ?’ उनले भने, ‘उहाँहरु दिनहुँ यही बाटो हिड्नुहुन्छ । घर यहीँ छ ।  यो समस्या समाधान गर्ने स्थानीय तहको पनि जिम्मेवारी होइन ?’ उक्त सडक निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवाले लिएको छ । ६ महिना अघि नै निर्माण सम्पन्न हुनुपर्ने भएपनि ६ महिना म्याद थप गरिएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     11:29:09 AM  |