21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

दसैं तिहारको किनमेलः नेपालगन्ज कोहलपुर सुनसान, रुपैडिहामा नेपालीको भिड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

व्यवसायी मनप्रसाद न्यौपानेको दैनिकी फुर्सदिलो छ । कोहलपुरमा फेन्सी व्यवसाय गर्दै आएका छन् उनी । विगतको जस्तो बजारमा दसैंको पहलपहल सुरु नभएको उनको भनाइ छ । ‘फेन्सी बजार सुनसान छ । व्यापार हुँदैन । दिन कटाउन समस्या भइसक्यो’ व्यवसायी न्यौपाने
भन्छन् । उनका अनुसार दसैंको समयमा पनि यो वर्ष पसलमा मोबाइल चलाएरै बस्नुपर्ने बाध्यता छ ।

पर्व नजिकिएसँगै उनले नयाँ सामान थपेका छन् । सिजनको समयमा पनि नयाँ लुगा किन्ने ग्राहकको कमीले लगानी डुब्ने हो की भन्ने चिन्ता लागेको उनी बताउँछन् । उनले कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लामा समेत सामान निर्यात गर्छन् ।

उताबाट समेत सोचे अनुसारको माग नभएकोले फुर्सदिलो भएको सुनाए । बाँकेमा यसअघि दसैं, तिहारको समयमा सदरमुकाम नेपालगन्ज, कोहलपुर लगायतका मुख्य बजारमा क्षेत्र मानिसहरुको उपस्थिति हुन्थ्यो । नयाँ सामान किनमेल गर्नेहरुको घुइँचो लाग्थ्यो । यसपटक भने पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र नेपालगन्ज बजारमा समेत दसैंको रौनक देखिदैन ।

व्यवसायीहरु त झन् दसैं यसपटक खल्लो हुने बताउँछन् । यसपटक नेपालगन्जको फेन्सी बजारका रुपमा चिनिने घरबारी टोल, त्रिभुवन चोक र न्यूरोड सुनसान छ । नेपालगन्जका मुख्य सडक क्षेत्र तथा विभिन्न चोक क्षेत्रमा रहेका पसलहरुको समेत हालत उस्तै छ । यस्तै बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा समेत हविगत यस्तै छ । व्यवसायी शुस्मा लिम्बु चाडपर्वको रौनक नै नआएको बताउँछिन् । ‘लामो समय कोभिडको मारमा परियो । दसैं तिहारमा आशा थियो । त्यो पनि निरासामा बदलिएको छ ।

नाफा परको कुरा खरिदको मूल्य समेत नउठ्ने समस्या छ’ उनले सुनाइन् । खासगरी विभिन्न दुर्गम क्षेत्रबाट नेपालगन्जमा अध्ययन गर्न आउने विद्यार्थीले यहाँको व्यापारमा ठूलो प्रभाव पारेका थिए । कोभिड लागेपछि शैक्षिक संस्था बन्द भए । विद्यार्थी घर फर्किएका छन् ।

दिनभरि पसलमा बसेर खाजा खर्च जुटाउन पनि मुस्किल परेको पुष्पलाल चोककी फेन्सी व्यापारी शर्मिला बोहराले बताइन् । कोभिड महामारीका कारण मान्छेहरू हिंडडुल गर्नमा कमी आएको उनले सुनाइन् ।

रुपैडिहामा भने नेपालीको भिड

लामो समयपछि सीमा नाका खुलेपछि सीमावर्ती बजार रुपैडिहामा भने नेपाली उपभोक्ताको भिडभाड लागेको छ । नेपाली बजारहरु सुनसान देखिएपनि रुपैडिहामा सामान खरिद् गर्न जाने नेपालीहरुको घुइँचो लागेको हो ।

बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट समेत मानिसहरु दसैं तिहारको किनमेलको लागि भारतीय रुपैडिहा बजार पुगिरहेका छन् । जागिरको शिलशिलामा बाँकेमा रहेका जुम्लाका रत्नचन्द्र गौतम आफू भर्खरै रुपैडिहाबाट किनमेल गरेर फर्किएको बताए ।

दसैं मनाउन गृह जिल्ला जाने तयारीमा रहेका उनी नेपाली बजार साह्रै महंगो भएको बताउँछन् । उनी मात्रै होइन धेरै नेपाली ग्राहकहरुको रोजाइको बजार हो, रुपैडिहा बजार ।

बाँकेका व्यवसायी भने केही हदसम्म नेपालीहरु रुपैडिहामा बढी जाने सत्य भएको बताउँछन् । तर पछिल्लो समय जिल्लामा ठूला सुपरमार्केट र मार्टहरु खुलेसँगै ग्राहक रोकिरहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । उनले रुपैडिहामा निम्न आय भएको वर्ग बढी जानेको गरेको दाबी गरे ।

जिल्लाका मूख्य बजार क्षेत्रको आम्दानीको स्रोत गाउँको पैसा भएको अध्यक्ष पौडेलले बताउँछन् । ‘हाम्रो बजारको स्रोत गाउँको पैसा हो । अहिले विदेश गएकाले पैसा पठाएका छैनन् । अर्कोतिर अहिले खेतीपातीमा व्यस्त छन् । त्यसको प्रभाव बजारमा परेको छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै पौडेलले भने ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     10:59:23 AM  |