21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बाँसगढीको बहुला खोलामा पक्की पुल बन्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर– २ मा रहेको लौहा (बहुला) खोलामा पक्की पुल निर्माण हुने भएको छ ।

पुलको शनिबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी र वडा नम्बर– २ का वडाध्यक्ष घमण्ड बहादुर चन्दले शिलन्यास गरेका थिए ।

बहुला खोलामा पक्की पुल नबन्दा स्थानीयबासीलाई बाढी आएको बेला धेरै समस्या रहेको थियो । विगतदेखि नै यहाँ पुल बनाउने भनिएपनि विभिन्न समस्याका कारण काम चाँही अगाडि बढ्न सकेको थिएन ।

लम्बाई २५ मिटर हुने पुल निर्माणको लागि तीन करोड ९ लाख २३ हजार ६०५ रुपैयाँमा भैरव नारायण जे.भि निर्माण सेवासँग सम्झौता भइसकेको छ । बाँसगढी नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा निर्माण सुरु भएको पुल २०७९ जेठ मसान्तसम्म निर्माण सक्नुपर्ने सम्झौता रहेको नगरपालिकाका ईन्जिनियर बलराम पौडेलले जानकारी दिए ।

‘पुल तोकिएको मापदण्ड अनुसार नै निर्धारित समयमै निर्माण सम्पन्न हुन्छ’ उनले भने, ‘निर्माण कम्पनीले समेत काम सुरु गरिसकेको अवस्था छ ।’ स्थानीय निर्वाचन अघि नै यहाँ पक्की पुल बन्ने भनेर अलपत्र रहेको पुललाई प्रदेश सरकारको सहयोगमा बाँसगढी नगरपालिकाले निर्माण गर्न थालेको नगर प्रमुख अधिकारीले जानकारी दिए ।

पुलको निर्माण भएपछि यस वडामा नागरिकलाई बर्खाको समयमा नगरपालिकासम्म जानका लागि लोकमार्ग निस्कनु पर्ने बाध्यता हट्ने उनी बताउँछन् । यस्तै वडा नम्बर– २ का अध्यक्ष घमण्ड चन्दले लामो संघर्षपछि पुल बन्न लागेको भन्दै समयमा नै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     10:49:29 AM  |