16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

एकैपटक बाँकेले पायो संघमा दुई मन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २३, २०७८  

कोहलपुर ।

शुक्रबार पूर्णता पाएको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा बाँकेका दुई जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषदमा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै बाँकेका महेश्वर गहतराज ‘अथक’ र गजेन्द्र हमालले स्थान पाएका हुन् ।

बाँके क्षेत्र नं. १ बाट निर्वाचित अथक युवा तथा खेलकुद मन्त्री बनेका छन् भने नेपाली काँग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका नेता गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुदै बाँकेको प्रतिनिधित्व गर्दै नयाँ मन्त्रीमण्डलमा सहभागी भएका छन् ।

गहतराज माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् भने हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री बनेका हुन् । नेपालमै पहिलोपल्ट हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने पहिलो हुन् । हमाल गैर सांसद पनि हुन् ।

यस्तै, शुक्रबार नै विस्तार गर्ने भनिएको लुम्बिनी प्रदेश सरकारको मण्त्रिमण्डलबारे भने निर्णय भएन । नत्र गजेन्द्र हमालकै भाई सुरेन्द्र हमाललाई कांग्रेसले लुम्बिनी प्रदेशमा मन्त्री बनाउने निर्णय गरिसकेको थियो ।

तर, शुक्रबार लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गर्न सकेन । यद्यपि हमाल प्रदेश सरकारमा मन्त्री बन्ने भने पक्का भएका छन् ।

प्रकाशित मितिः शनिबार, अशोज २३, २०७८     9:44:06 AM  |